काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा उद्योग विभागमा ३ सय २२ उद्योग दर्ता भएका छन् । विभागले सार्वजनिक गरेको गत आर्थिक बर्षको प्रगति विवरणअनुसार स्वदेशी र विदेशीसमेत गरी ३ सय २२ उद्योग दर्ता भएका हुन् ।
गत आर्थिक बर्षमा विभागमा दर्ता भएका उद्योगले प्रस्ताव गरेको कूल लगानी २ खर्ब १४ अर्ब बराबर रहेको छ । ती उद्योगहरुबाट प्रस्तावित रोजगारीको सङ्ख्या २३ हजार ३ सय २४ रहेको विभागले जनाएको छ । दर्ता भएकामध्ये ठूला उद्योग ६६, मझौला ७० र साना १ सय ८६ रहेका छन् ।
औद्योगिक व्यवसाय ऐन, २०७६ ले ५० करोड रुपैयाँभन्दा बढी स्थिर पूँजी भएका उद्योगलाई ठूला, १५ करोड रुपैयाँ देखि ५० करोड रुपैयाँसम्म मझौला र लघु तथा घरेलु उद्योगबाहेक १५ करोड रुपैयाँसम्मको स्थिर पूँजी भएकालाई साना उद्योगका रुपमा वर्गीकरण गरेको छ ।
उद्योग विभागमा गत वर्ष पाँच प्याटेन्ट र १८ डिजाइन दर्ता भएका छन् । त्यस्तै गत आर्थिक बर्षमा दर्ता भएका ट्रेडमार्कको सङ्ख्या ३ हजार २ सय ५४ रहेको छ । पछिल्लो एक वर्षको अवधिमा ट्रेडमार्कसम्बन्धी मुद्दामा एक सय ५० कम्पनीलाई कारबाही गरिएको विभागले जनाएको छ । विभागबाट प्रारम्भिक वातावरणीय परीक्षण (आइई) स्वीकृति लिनेको सङ्ख्या ८२ छ ।
सोही अवधिमा ४ सय ४ उद्योगले निर्यातमा नगद अनुदान लिनका लागि विभागबाट मूल्य अभिवृद्धि (भ्यालु एडिसन) प्रमाणित गराएका छन् भने भारत निर्यातका लागि उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) सिफारिस भएका ९८ छन् । गत आर्थिक बर्षमा उद्योग विभागबाट स्वीकृत भएका विदेशी लगानीको सङ्ख्या ३ सय २७ छन् । उक्त उद्योगबाट कूल ३३ अर्ब १४ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रस्ताव आएको विभागले जनाएको छ ।



