images
images

मुलुकलाई चामलमा आत्मनिर्भर बनाउने लक्ष्यमा वीरेन्द्रबहादुर बस्नेत, ५० करोडभन्दा बढी लगानी


  • 287
    SHARES
  • २०८० श्रावण १३ गते शनिबार

    मुलुकलाई चामलमा आत्मनिर्भर बनाउने लक्ष्यमा वीरेन्द्रबहादुर बस्नेत, ५० करोडभन्दा बढी लगानी

    काठमाडौं । संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव बान कि–मुनले कार्यकालको उत्तरार्धतिर विश्व खाद्य सम्मेलनमा ‘भात खाने बानी हटाऊ ? अरु चिज खानेतर्फ ध्यान दिउँ’ भने थिए। विश्वमा धान चामल उत्पादनमा उल्लेखनीय ह्रास आएपछि उनले विश्वका उपभोक्तालाई यस्तो आग्रह गरेका थिए।
          
    संयुक्त राष्ट्र सङ्घका अनुसार अहिले विश्वभर ७ करोड ८० लाख मानिस भोकमरीमा छन् भने करिब एक तिहाइ खाद्य उत्पादन कम भएको छ । साथै करिब ३ अर्ब मानिसले सन्तुलित भोजनको पहुँचमा पुग्न सकेका छैनन् । विश्वमा पछिल्लो समय देखिएको भूराजनीति तथा अर्थतन्त्रको आपूर्ति शृङ्खलामा आएको अवरोधले खाद्य सुरक्षाको चिन्ता बढाएको छ । यसै सन्दर्भमा हालै छिमेकी मुलुक भारतले पनि आगामी निर्वाचनलाई मध्यनजर गर्दै चामल निर्यातमा प्रतिबन्ध लगाएको छ ।
          
    एकातिर धान उत्पादन हुने उर्बर भूमि घट्दो क्रममा छ भने कृषिमा काम गर्ने जनशक्ति विदेश पलायन भइरहेका छन् । जसले कृषि उत्पादन घटाउँदै परनिर्भरता बढाएको छ । गत आर्थिक वर्षमा मात्रै नेपालले ३६ अर्ब ६६ करोड रुपैयाँ बराबरको चामल आयात गरेको भन्सार विभागको तथ्याङ्क छ ।
     
    विश्वभर खाद्यसङ्कट निम्तन सक्ने सम्भावित जोखिम र नेपालले आफ्नै भूमिमा उत्पादन बढाएर धान चामलमा आत्मनिर्भरताको बाटोमा अघि बढ्न हालको निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायमुखी बनाउन अपरिहार्य भइसकेको छ ।
         
    यही आवश्यकतालाई मध्यनजर गर्दै एयरलायइन्स व्यवसायमा सफल वीरेन्द्रबहादुर बस्नेत कृषिकर्ममा लागेका छन् । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरका प्रबन्ध निर्देशक बस्नेतले मोरङको डाँगिहाटमा ५० करोड रुपैयाँभन्दा बढी लगानीमा अत्याधुनिक उपकरणयुक्त ‘आरजु राइस मिल’ सञ्चालनमा ल्याएका हन् । 
         
    कम्पनीका कार्यकारी अध्यक्षसमेत रहनुभएका बस्नेतले निर्वाहमुखी धानखेतीलाई आत्मनिर्भरतर्फ लैजाने उद्देश्यले किसानलाई प्रेरित गर्दै मिल सञ्चालनमा ल्याएका हुन् । नेपाली किसानले उत्पादन गरेको धानको चामल नेपाली उपभोक्तामाझ पुर्याउने र किसानलाई धानको न्यूनतम समर्थन मूल्य तोकेर उपभोक्तालाई कम मूल्यमा चामल उपलब्ध गराउने उद्देश्यले उनले कृषि क्षेत्रमा होमिएका हुन् । 
     
    किसानलाई प्रोत्साहित गर्दै उपभोक्तालाई स्वदेशी गुणस्तरीय चामल विभिन्न देशमा समेत पुर्‍याउने उद्देश्यले कृषिमा हामिएको भन्दै उहाँले यसबाट बढ्दो खाद्य सङ्कट समाधानमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । उनले यसमार्फत आफू मात्रै होइन, २० हजारभन्दा बढी किसानलाई पनि सँगै लैजाने योजना बनाएका छन् ।
         
    “बढ्दो खाद्य सङ्कट कम गर्न नेपाली उपभोक्ताले नेपाली चामल खरिद गरेर खानुपर्छ”, रासससँगको कुराकानीमा कार्यकारी अध्यक्ष बस्नेतले भने, “यस्ता मिलले गर्दा किसानलाई प्रोत्साहित गर्छ, उनीहरुलाई सही मूल्य दिन्छ । यो मोडल सफल भए देशभर विस्तार गर्ने लक्ष्यसमेत छ ।”
           
    लामो समयदेखि एयरलाइन्स व्यवसायमा संलग्न बस्नेतको परिवार त्यसअघि पनि कृषि पेसामै रहेको उनको भनाइ छ । “हाम्रो परिवार ३५÷३६ वर्षदेखि कृषि क्षेत्रमै छ । बुध्द एयर सुरु गर्नुभन्दा अघिको परिवारको मुख्य पेसा नै कृषि थियो”, उनले भने । व्यावसायिक खेती हुन नसक्नु आजको ठूलो समस्या भएको भन्दै बस्नेतले जलवायु परिवर्तनका कारण पनि धानखेतीका लागि चुनौती थपिएको उल्लेख गरे । उनले भने, “धान उत्पादनमा ह्रास आएको छ । धानको सङ्कट चुलिँदै गएको मैले अनुभव गरेको छु र वास्तविकता पनि त्यस्तै छ ।”
          
    पर्यटन पूर्वाधार, होटल, बैंक तथा वित्तीय संस्था, ऊर्जा, शिक्षा र सूचना प्रविधिमा ठूला–ठूला लगानी भएका छन् तर, कृषि प्रधान देश नेपालमा कृषिलाई प्राथमिकता दिन नसकिरहेको अवस्थामा आफू यसको आवश्यकता महसुस गर्दै विभिन्न चुनौतीका बाबजुद कृषिमा होमिएको उनको भनाइ छ । “हामी नपाली किसानको मात्रै धान खरिद गर्छौं”, उनले भने, “निर्वाहमुखी कृषिलाई औद्योगीकरण गर्नु हाम्रो २० वर्षे योजना पनि हो ।”
         
    कृषि विभागका अनुसार नेपालमा समुद्री सतहबाट तराईमा ६० मिटरदेखि संसारको सबैभन्दा उच्च स्थानमा जुम्लाको छुमचौरमा ३ हजार ५० मिटर उचाइसम्म धानको खेती गरिन्छ । मुलुकको कूल गार्हस्थ्य उत्पादनमा करिब २४.१ प्रतिशत कृषिको योगदान रहेकोमा कृषि क्षेत्रको गार्हस्थ उत्पादनमा धानको १५ प्रतिशत योगदान छ । आर्थिक बर्ष २०७९/८० मा १४ लाख ४७ हजार हेक्टर क्षेत्रफलमा धान खेती भई ५४ लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएको छ । यद्यपि अझै पनि मुलुकमा १० देखि १२ लाख मेट्रिक टन धान अपुग हुँदै आएको छ । 
         
    “खाद्य सुरक्षा चुनौतीपूर्ण छ । मित्रराष्ट्र भारतबाट खाद्यान्य आयात नगरेको खण्डमा हामी भोकमरीमा पर्छौं”, बस्नेतले भने, “अहिले जसरी भारतले चामल निर्यातमा प्रतिवन्ध लगाएको छ । त्यसले ठूलो हाहाकार मञ्चिएको छ, हल्लाखल्ला भएको छ तर, अहिले भारतमा पनि खाद्यान्य सङ्कट ठूलो समस्याको रुपमा आएको छ ।”
         
    बस्नेतको बुझाइमा भारतले कुनै दबाब सिर्जना गर्न चामल निर्यात प्रतिबन्ध गरेको होइन । जलवायु परिवर्तनका कारण विश्व खाद्य कार्यक्रमजस्ता विश्व प्रसिद्ध सङ्गठनले खाद्यान्न सङ्कट आउने प्रक्षेपण गरिरहेका छन् । 
         
    जलवायु परिवर्तनका कारण पर्याप्त पानी नपरेकाले धान उत्पादन कमजोर भएको छ । बेमौसमी वर्षा हुनेजस्ता कारण धान उत्पादन कमजोर बन्दै गएको उहाँको बुझाइ छ । यो समस्या अर्को वर्ष अझ बढ्ने छ । अघिल्लो वर्ष पनि भारतले चामल निर्यातमा प्रतिबन्ध गरेको थियो । 
     
    कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार २०८० साउन ६ गतेसम्म मुलुकभर ६८ प्रतिशत रापाइँ सम्पन्न भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ८८ प्रतिशत रोपाइँ भएको थियो । मुलुकलाई खाद्यान्न विशेष गरी चामलमा आत्मनिर्भर बनाउन निर्वाहमुखी किसानलाई व्यवसायमुखी बनाउन जरुरी भएको व्यवसायी बस्नेतले उल्लेख गरे । मुलुकमा चामलको सङ्कटलाई समाधान गर्न नेपालनै आत्मनिर्भर हुनुपर्छ भन्ने उद्देश्यले अत्याधुनिक राइस मिल सञ्चालन गरिएको उनले बताए ।  
     
    “चामल निर्यात प्रतिबन्ध लगाउने भारतको हालैको निर्णयले चामलको भाउ बढे पनि हामीले उत्पादन र आपूर्ति गर्ने चामलको भाउ बढ्दैन, किन भने हामीलाई भारतको निर्णयले असर गर्दैन”, उनले भने, “किसानसँगै धान किनेर चामल सस्तो मूल्यमा उपभोक्तामाझ लगिरहेका छौँ । त्यसैले गर्दा किसान र उपभोक्ता दुवैलाई फाइदा पुगेको छ ।” 
     
    उनका अनुसार ठूलो लगानीमा अत्याधुनिक मिल खोलेर किसानबाट धान पनि खरिद गरिए पनि बजार व्यवस्थापनमा निकै चुनौती भने कायमै छ ।


    images
    images

    Logo