images
images

टुथपिकदेखि सियो र नटबोल्टको आयातमा बाहिरिन्छ अर्बौं रकम 


  • 302
    SHARES
  • २०८० श्रावण १३ गते शनिबार

    टुथपिकदेखि सियो र नटबोल्टको आयातमा बाहिरिन्छ अर्बौं रकम 

    काठमाडौं । अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुने अवस्था रहँदैन । अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको रहेको हाम्रोजस्तो मुलुकले उत्पादनमूलक अर्थव्यवस्थामा जोड दिनु अतिआवश्यक हुन्छ । तर हेर्दा सामान्य लाग्ने वस्तुसमेत आयात गरेर उपभोग गर्नुपर्ने अवस्थाले मुलुकको उत्पादन क्षमता र स्तर एकदमै कमजोर रहेको पुष्टि भइरहेको छ । 
     
    भन्सार विभागले पछिल्लो समय सार्वजनिक गरेको आयात निर्यातको विवरणअनुसार मुलुकमा सामान्य प्रविधि र कच्चा पदार्थ प्रयोगमा उत्पादन हुने वस्तुसमेत ठूलो मात्रामा आयात भएको देखिन्छ । पछिल्लो समय विभागले सार्वजनिक गरेको तथ्याङ्कानुसार गत आर्थिक वर्षमा १ करोड रुपैयाँभन्दा बढी मूल्यको दाँत कोट्याउने सिन्को (टुथपिक) आयात भएको देखिन्छ । 
     
    विभागका अनुसार गत आर्थिक बर्षमा १ करोड १३ लाख ३७ हजार रुपैयाँ मूल्य बराबरको दाँत कोट्याउने सिन्को आयात भएको छ । बाँस र काठबाट बनेको यस्तो सिन्का मुख्यतया चीनबाट भित्रिने गरेको । त्यस्तै करिब १ करोड रुपैयाँ बराबरको कपडा झुण्ड्याउने ह्याङ्गर आयात भएको छ । विभागका अनुसार गत आर्थिक बर्षमा २ करोड ५ लाख ४९ हजार रुपैयाँ मूल्य बराबरको ह्याङ्गर निर्यात पनि भएको छ । 

    २ करोड रुपैयाँको सियो र सेफ्टी पिन आयात
     
    विभागका अनुसार गत आवमा लुगा सिउने सियो र सेफ्टी पिनको आयातमा २ करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । गत आर्थिक बर्षमा १ करोड ७३ लाख ९१ हजार रुपैयाँको  सेफ्टी पिन र ६३ लाख १० हजार रुपैयाँ मूल्य बराबरको सियो आयात भएको छ । जसबाट सरकारले ६७ लाख ४९ हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ । 

    १ अर्ब रुपैयाँ भन्दा बढीको नटबोल्ट र स्क्रु आयात
     
    विभिन्न यन्त्र उपकरण तथा सवारी साधानमा प्रयोग हुने नटबोल्ट र पेचकिलाजन्य वस्तु आयातमा समेत अर्बौं रकम मुलुकबाट बाहिरिरहेको छ । सार्वजनिक विवरणअनुसार गत आर्थिक बर्षमा १ अर्ब रुपैयाँभन्दा बढी मूल्यको फलाम तथा स्टिलका नटबोल्ट आयात भएका छन् । एक वर्षमा १ अर्ब २६ करोड ५४ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका पेचकिला (स्क्रुु) तथा बोल्ट र १४ करोड ९४ लाख ३५ हजार रुपैयाँ मूल्य बराबरको नट आयात भएको छ । विभागका अनुसार गत  आर्थिक बर्षमा १५ कारोड ८५ लाख रुपैयाँ बराबरको फलाम तथा स्टिलको किला आयात भएको छ ।

     


    images
    images

    Logo