images
images

विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी, दुई पक्राउ, तीन फरार


  • 262
    SHARES
  • २०८० श्रावण ९ गते मंगलबार

    विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी, दुई पक्राउ, तीन फरार

    काठमाडौं । विश्व खाद्य कार्यक्रमको नाममा कार्यालय खोली ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका–८ बस्ने ४७ वर्षीय जयराम केसी भन्ने घनश्याम कटुवाल र मकवानपुर वाग्मती गाउँपालिका–९ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–५ बस्ने ४० वर्षीय दिनेश भन्ने लिलाबहादुर भोलोन रहेका छन् । 

    बूढानीलकण्ठस्थित भाडाको घरमा कार्यालय सञ्चालन गरी नक्कली कर्मचारीहरू खडा गरी विश्व खाद्य कार्यक्रमको नक्कली छाप तथा लेटरप्याडसमेत बनाई ठगी गरेको पाइएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले बताए । 

    उनीहरूले विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा टेण्डर आह्वानको विज्ञापन छापेर ठगी गरेको भन्ने सूचना गत जेठ २९ गते प्राप्त भएपछि जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त महाराजगञ्जबाट खटिएका संयुक्त प्रहरी टोलीले अनुसन्धानका क्रममा उनीहरूलाई भक्तपुरबाट पक्राउ गरेको हो । 

    उनीहरूको साथबाट दुई लाख, नेपालको राष्ट्रिय झण्डाहरू, अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रम लेखिएको छाप एक थान तथा लेटर प्याड तीन थान, फाइल एक थान, हाजिरी खाता एक थान, ह्वाइट बोर्ड एक थान, बोर्ड नेमप्लेट, टेबुल नेमप्लेट, घरभाडा सम्झौतापत्र, विभिन्न स्टेशनरीका सामानहरू, विभिन्न फर्निचरका सामानहरू, प्रिन्टर चार थान, कम्प्युटर चार थान र खरिद आदेश प्राप्त भएको कागजसमेत प्रहरीले बरामद गरेको छ । 

    उनीहरू उपर ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न फरार अन्य तीन जनाको प्रहरीले खोजी गरिरहेको छ ।


    images
    images

    Logo