काठमाडौं । घोराही सिमेन्टको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीको आईपीओमा अब असार १४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
सो आईपीओमा यथोचित संख्यामा आवेदन प्राप्त भएता पनि आवेदनहरु प्रमाणित हुने प्रकृयामा रहेकाले समयावधि थप गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले आयोजना प्रभािवत क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई बाँडफाँट गरी बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गरेको हो । कम्पनीले सो आईपीओ प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३ सय ३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४ सय ३५ रुपैयाँका दरले कुल ६९ लाख ११ हजार ६ सय ७० कित्ता शेयर निष्काशन गर्न लागेको छ।
सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।



