काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ आजदेखि निष्काशन हुने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले कुल २ लाख २० हजार कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सो आईपीओमा लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गाउँपालिका (साविकका घनपोखरा गाविस वडा नं १ र २, खुदी गाविस वडा नं ३, ताघ्रिङ्ग गाविस वडा नं ४, घेरमु गाविस वडा नं ५, बाहुन डाँडा गाविस वडा नं ६, भुलभुले गाविस वडा नं ७ र ८ तथा सिमपानी गाविस वडा नं ९) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
यस्तै, कम्पनीले ६५ लाख रुपैयाँ बराबरको ६५ हजार कित्ता आईपीओ वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको छ। सो आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ। त्यस्तै, स्थानिय बासिन्दाहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
आयोजन प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लगानीकर्ताले कम्पनीको आईपीओमा जेठ १६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने जेठ १६ गतेभित्र आवेदन दिनु पर्नेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।



