images
images

शेयर बजारमा सन्नाटा : पुँजीबजारको निर्धारक बदलिएको संकेत


  • 1.1K
    SHARES
  • २०८० बैशाख २८ गते बिहीबार

    शेयर बजारमा सन्नाटा : पुँजीबजारको निर्धारक बदलिएको संकेत

    काठमाडौं । बैंकमा निक्षेपको ब्याज घट्दो क्रममा छ । कर्जाको ब्याजदर पनि विस्तारै तल झर्दैछ । बाह्य क्षेत्रमा निकै सहज अवस्थामा पुगेको छ । चालुृ आर्थिक वर्षको ९ महिनामा मात्रै नेपालको शोधनान्तर अवस्था १ खर्ब ८० अर्बले बचतमा पुगिसक्यो । विदेशी मुद्रा सञ्चिति १५ खर्बको नजिक पुग्न लागिसक्यो । 

    शेयर बजारको निर्धारक तत्वमा वित्त नीतिभन्दा मौद्रिक उपकरणहरु सबैभन्दा महत्वपूर्ण हुने विश्वव्यापी मान्यता हो । अहिले अर्थतन्त्रमा देखिएका जति पनि समस्याहरु छन् ती वित्त नीतिसम्बद्ध समस्या हुन् । तर, मौद्रिक उपकरणको बलियो उपस्थितिबीच शेयर बजारमा सन्नाटा भने कायमै छ । 

    त्यसो त शेयर बजारभित्रका संरचनागत सुधारका विषयमा समेत यो अवधिमा धेरै काम भएका छन् । बाहिर विवाद भए पनि नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया लगानीकर्ताले चाहेकै विषय हुन् । २९ वटा नयाँ ब्रोकर कम्पनीले अहिले लाइसेन्सका लागि आशयपत्र पाइसकेका छन् । यसले पक्कैपनि प्रतिस्पर्धा बढाउँछ । प्राथमिक बजारहरु पनि अहिले सहज हुँदै गएका छन् । आईपीओ भर्न सी–आश्वा सेवाको अधिकतम शुल्क ५ रुपैयाँ तोकिएको छ । यी सकारात्मक विषयहरु नै हुन् । 

    अहिले बजारमा देखिएको मुख्य समस्या भनेको सरकारी राजश्व संकलनको हो । यसको प्रत्यक्ष प्रभाव सरकारी खर्चमा परेको छ । अहिले चालु आर्थिक वर्षको बजेटको वास्तविक असन्तुलन २ खर्ब भन्दा बढी छ । यसले काम सकिएर पनि भुक्तानी हुन नसक्दा निर्माण व्यवसायी र आपूर्तिकर्ताहरु प्रत्यक्ष प्रभावित हुनसक्ने अवस्था देखिन्छ । तर, यी विषयको प्रत्यक्ष सरोकार शेयर बजारसँग छैन । यद्यपि बजारमा कुनै सुधार हुन सकेको छैन । 

    विगत एक महिनाको बीचमा नेपाली शेयर बजारले करिब १ सय अंक गुमाएको छ । हप्ताभरी घट्ने र कुनै एकदिन बढ्ने प्रवृत्तिले बजारको वास्तविक प्रवृत्ति भने घट्दो अवस्थामा नै रहेको देखिन्छ । महिनाकै अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से ३ अंकले घटेर बन्द भएको छ । योभन्दा ठूलो समस्या आज बजारमा जम्मा ५७ करोडको मात्रै कारोबार भयो । बुधबार र विहीबारको यो कारोबार र कम विगत ७ महिनायताकै कम हो ।  

    अहिलेको पुँजी बजारको अवस्थालाई शेयर बजारका जानकारहरु बजार परिपक्व हुँदै गएको अर्थमा हेर्ने समेत गरेका छन् । पुँजी बजारलाई अर्थतन्त्रको ऐना मान्ने सैद्धान्तिक अभ्यास भए पनि नेपालको सम्बन्धमा त्यो कहिलै लागु भएन । भुकम्प नाकाबन्दीजस्तो समयमा अर्थतन्त्र निकै कमजोर हुँदा पनि शेयर बजारले नयाँ नयाँ रेकर्ड राख्दै गएका इतिहास थियो । कोभिड महामारीको समयमा झन् शेयर बजारले झण्डै ३२ सय अंकको ऐतिहासिक उचाइ भेट्न सफल भएको थियो ।

    अहिले निजी क्षेत्रसँग सरोकार राख्ने अर्थतन्त्रका मौद्रिक क्षेत्रमा सुधार त आएका छन् । तर, यसको प्रभाव बजारमा देखिन सकेको छैन । अहिले पनि बजारमा बक्यौता असुल हुन नसक्ने अवस्था कायमै छ । बैंकको ब्याज र किस्ता समयमा असुल नभएर वित्तीय क्षेत्रको निष्क्रिय कर्जा ह्वात्तै बढेको छ । चुनावी अभियान सकिँदा समेत बजारमा सकारात्मक प्रभाव पर्न सकेको छैन । यस्तो अवस्थामा बजारमा कुनै पनि पक्ष अर्थतन्त्रप्रति आशावादी बन्न सकेको अवस्था छैन । यस्तै मनोविज्ञानको प्रभाव शेयर बजारमा परिरहेको सरोकारवालाको बुझाइ छ ।

    यद्यपि केही सरोकारवाला भने चालु आवको तेस्रो त्रैमासिक समीक्षामार्फत् लिइने नीति शेयर बजार सुधारको कोशेढुंगा हुने आशा गरिरहेका छन् । 


    images
    images

    Logo