काठमाडौं । थ्रीस्टार हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि वैशाख ११ गतेदेखि निष्काशन गरिएको सो आईपीओमा अब जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन्।
सो कम्पनीले ४ लाख ९२ हजार ५ सय कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्काशन गर्न लागेको छ । जसमा खोटाङ जिल्लाको प्रभावित क्षेत्र हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ देखि ११ (साविकको बाहुनीडाँडा, डिकुवा, च्याम्सिटार, बडहरे, दुर्छिम, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खले र राजापानी गाविस) र दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं. १ देखि ७ (साविकको याम्खा, डाडागाउँ, छोरम्बु, बतासे, सचिता पोखरी, छिता पोखरी र टेम्मा गाविस) का बासिन्दाहरुले आवेदन दिन सक्ने
कम्पनीले जनाएको छ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ४ लाख ९२ हजार ५ सय कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।



