काठमाडौं । घट्दो क्रममा रहेको शेयर बजारले आज पनि निरन्तरता पाएको छ । यो सातामा कारोबारको तेस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक रातो देखिएको हो । नेप्से परिसूचक आज ९.१८ अङ्कले घटेर १ हजार ८ सय ५७ दशमलव २३ अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार २ सय ६५ वटा कम्पनीको २१ लाख ५५ हजार ५ सय ८६ कित्ता शेयर १८ हजार ८ सय ७६ पटक खरिद बिक्री हुँदा कारोबार रकम ६२ करोड २ लाख ६६ हजार रुपैयाँमा खुम्चिएको छ ।
उत्पादन तथा प्रशोधन समूह ०.५६ र म्युचुअल फन्ड ०.०३ अङकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह ५९.६९ र होटल तथा पर्यटन समूह ५२.६० अङ्कले घटेको छ ।
त्यसैगरी, बैंकिङ समूह १.९८, विकास बैंक समूह ८.०१, वित्त समूह १२.२९, जलविद्युत् समूह २९.२३ र लगानी समूह ०.०९ अङ्कले घटेको छ । लघुवित्त समूह २१.४१, निर्जीवन बीमा समूह १४.५९, व्यापार समूह ३.६६ र अन्य समूह १४.५२ अङ्कले घटेको छ ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ६.०९ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा एनआइबिएल ग्रोथ फन्डको शेयर मूल्य ५.३५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ३ करोड ५ लाख ३ हजार ४ सय ९८ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर लिमिटेडको १ लाख १४ हजार ५ सय ९२ कित्ता शेयर किनबेच भएको छ ।



