काठमाडौं । मेन्छियाम हाइड्रोपावरले आईपीओ बाँडफाँटको मिति तय गरेको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ भोली अथात् बैशाख १३ गते बुधबार बाँडफाँट हुने भएको हो । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल मार्केटका अनुसार बुधबार बिहान १०.३० बजे लैनचौर ब्यांक्वेटमा आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।
यसमा १२ लाख २८ हजार २ सय जनाले कुल १ करोड ३५ लाख ७ हजार ९ सय ६० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ९३ हजार ४ सय ९१ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ११ लाख ३४ हजार ७ सय ९ जना हात खालि हुनेछ । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुने कम्पनीले जनाएको छ ।
कम्पनीले बैशाख ४ गतेदेखि ७ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७ सय ५० कित्ता आइपीओ जारी गरेको थियो । जस मध्ये यस कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गरिसकेको छ ।
त्यस्तै, ५ प्रतिशत अर्थात् ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी ९ लाख ३४ हजार ९१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।



