काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लागि नेशनल स्टक एक्सचेञ्जले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डका अनुसार आइतबार नेशनल स्टक एक्सचेञ्जले नयाँ स्टक एक्सचेञ्जका लागि आवेदन दिएको हो ।
आज दोस्रो नम्वरमा नेशनल स्टक एक्सचेन्ज कम्पनीको आवेदन दर्ता भएको बोर्डले जनाएको छ । नेशनल स्टक एक्सचेन्जमा उपेन्द्र महतो, दीपक तिमिल्सिना, सिद्धार्थ ग्रुप अग्नि ग्रुप रिलायन्स ग्रुप, अर्का एनआरएन जीवा लामिछाने, एनआरएनका अध्यक्ष बद्री केसी, कुल आचार्य र महासचिव गौरी जोशीको लगानी छ । बेलायत बसेर व्यापार गरिरहेका रविजंग लामिछानेको पनि नेशनल स्टक एक्सचेन्जमा लगानी हुनेछ ।
बोर्डले दिएको समय आज सकिँदैछ। बोर्डले गत बिहीबार सूचना जारी गर्दै नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार कम्पनी स्थापनाका लागि प्रक्रिया अगाडि बढाएको थियो। बोर्डले १० दिनको समय दिँदै इच्छुकसँग आवेदन माग गरेको थियो।
यसअघि आवेदन खुल्ला गरेपनि सर्वोच्च अदालतलमा रिट दायर भएको कारणले रोकिएको थियो तर अदालतले स्टक स्थापनाका लागि बाटो खोलिदिएपछि रोकिएको प्रक्रिया अगाडि बढेको हो। स्टक स्थापनाको बाटो खुलेपछि बोर्डले १० दिनको समय दिँदै आवेदन माग गरेको हो। सो समय आज बेलुका सकिँदैछ । यस्तै, नयाँ स्टक एक्सचेञ्जको लागि हिमालयन स्टक एक्सचेञ्जले शुक्रबार बोर्डमा आवेदन दिएको थियो ।



