images
images

बुधबारको शेयर बजारमा यी हुन् उछालका ३ कारण


  • 280
    SHARES
  • २०७९ चैत्र २९ गते बुधबार

    बुधबारको शेयर बजारमा यी हुन् उछालका ३ कारण

    काठमाडौं । बुधबार शेयरबजार परिसूचकमा ९२.२२ अंकको उछाल आयो । १७ सय अंकको नजिक पुगिसकेको नेप्से परिसूचक एकैदिन बढेर १९ सयको नजिक पुग्दा बजारको सम्पत्ति एकैदिन १ खर्ब ३४ अर्ब रुपैयाँले बढेको छ । यसबाट लगानीकर्ताहरुमा उत्साह देखिएको छ । 

    आजको बजार बृद्धिमा मुख्यगरी ३ वटा कारण रहेको बताइन्छ । पछिल्लो समय सरकार र राष्ट्र बैंकबीच सुध्रिएको सम्बन्ध, राष्ट्र बैंकका जिम्मेवार पदाधिकारीबाटै अर्थतन्त्र सुधारोन्मुख भएको अभिव्यक्ति र बजारको व्याजदरमा आएको कमीका कारण एकैपटक यो उछाल सम्भव भएको जानकारहरु बताउँछन् । 

    मंगलबार राष्ट्र बैंकले भौतिक रुपमा पत्रकार सम्मेलन आयोजना गरेरै चालु आर्थिक वर्षको ८ महिनासम्मको अवस्था सार्वजनिक गर्यो । यसअनुसार देशको विप्रेषण आप्रवाह, शोधनान्तर बचत र विदेशी विनिमय सञ्चिति उल्लेख्य र दीगो रुपमा बढेको विवरण प्रस्तुत भयो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विगत ८ महिनामा मासिक ९९ अर्बको औसतमा रेमिट्यान्स आएको, शोधनान्तर बचत १ खर्ब ४८ अर्ब पुगेको तथा १० महिनालाई पुग्ने वस्तु तथा सेवा आयात धान्न पुग्नेगरी १४ खर्ब भन्दा बढीको विदेशी मुद्रा सञ्चित रहेको अवस्था सुनाएका थिए । 

    राष्ट्र बैंकले पत्रकार सम्मेलनकै आयोजना गरेर यो विवरण प्रस्तुत गर्नुको अर्थ अर्थतन्त्र सुधार हुन थालेको छ भनेर प्रष्ट रुपमा सन्देश दिनु थियो । सोही कारण मंगलबार पनि कारोबार समयको उत्तराद्र्धमा शेयर बजार बढेको थियो । 

    त्यसो त, मंगलबारको पत्रकार सम्मेलनको अर्को मुख्य सन्देश थियो, सरकार र राष्ट्र बैंकबीचको सम्बन्ध सुधार हुनु । विगतमा शेरबहादुर देउवा नेतृत्वको सरकार हुँदा प्रधानमन्त्री र तात्कालिन अर्थमन्त्री जनार्दन शर्मासँग गभर्नर अधिकारीको सम्बन्ध राम्रो नभएको चर्चा हुन्थ्यो । सोही कारण उनले मौद्रिक नीतिमा संकुचनकारी व्यवस्था ल्याइदिएको, आयात निरुत्साहनमा सहयोग नगरेको जस्ता आरोप खेप्दै आएका थिए ।

    विष्णु पौडेल अर्थमन्त्री भएपछि दुई संस्थाबीचको सम्बन्धमा सुधार आएको चर्चा भयो । तर, पौडेल अर्थमन्त्रीमा २ महिनाभन्दा बढी टिक्न सकेनन् । गठबन्धन दलमा आएको परिवर्तनका कारण एमाले सरकारबाट बाहिरिँदा अहिले नयाँ अर्थमन्त्रीको रुपमा प्रकाशशरण महत आएका छन् । 

    नयाँ अर्थमन्त्री आएपछि राष्ट्र बैंक नेतृत्व र सरकारबीचको सम्बन्ध कस्तो छ भन्नेबारे मंगलबारसम्म कुनै प्रष्टता थिएन । प्रधानमन्त्री र अर्थमन्त्रीले अर्थतन्त्र सुधारका लागि अघि बढेको आश्वासन दिए पनि त्यसमा विश्वास गर्ने आधार नहुँदा यसले बजारमा सकारात्मक असर पार्नसक्ने अवस्था बनेको थिएन । मंगलबार गभर्नरको सम्मेलन र दिएका अभिव्यक्तिका कारण सरकारको आश्वासन र राष्ट्र बैंकको सूचकको ‘एक्सिलिरेट’ भएको विश्लेषकहरुको अनुमान छ । 

    तेस्रो र मु्ख्य कारणचाहिँ व्याजदर घटाउने बैंकर्स संघको निर्णयको प्रभाव हो । बुधबार बिहान बसेको बाणिज्य बैंकको छाता संस्थाको बैठकले मुद्दती खातामा दिँदै आएको व्याजदरलाई घटाएर अधिकतम ९.९ प्रतिशतमा झार्ने निर्णय गरेको थियो । हालसम्म त्यस्तो खातामा ११ प्रतिशतसम्म ब्याजदर दिइँदै आइकोमा व्यादरमा एकैपटक १.१ प्रतिशत विन्दु तल झार्ने निर्णय संघले गरेको हो । यो नेपाल राष्ट्र बैंकले तोकेको अधिकतम १० प्रतिशतको गिरावट हो । 

    शेयर बजार र निक्षेप बजारको व्याजदरबीच विश्वमै नकारात्मक सम्बन्ध हुने गरेको छ । निक्षेपको ब्याजदर बढ्दा लगानीकर्ताहरु निक्षेप लगानीमा आकर्षित हुने भएकोले पुँजी बजारमा स्टकको माग घट्छ । मागमा आएको कमीले मूल्यलाई घटाउन मदत गर्छ । त्यसको ठीक विपरित ब्याजदर घट्दा निक्षेपप्रति लगानीकर्ताको आकर्षण घट्छ, जसकोे प्रभाव बजारमा सकारात्मक रुपले पर्छ । 

    त्यसो त, बैंकर्स संघको उक्त निर्णयको पूर्ण प्रभाव देखिन १ वर्ष वा सोभन्दा बढी नै समय लाग्नसक्छ । किनकी उच्च व्याजदरमा कबोल गरिएका निक्षेपहरु परिपक्व अवधिसम्म तोकिएकै ब्याजदरमा बैंक तथा वित्तीय संस्थाले लिइराख्नुपर्छ । तर, निर्णयको मनोवैज्ञानिक प्रभाव भने बजारमा तत्काल देखिएको छ । 

    यद्यपि आजको बजारलाई दीर्घकालीन सुधारको रुपमा हेर्न सकिने अवस्था छ कि छैन भन्नेमा भने लगानीकर्ताहरुमा अझै संशय छ । वित्तीय संकटको अवस्था कायमै रहेको र वित्तीय क्षेत्रविरुद्ध भइरहेका गतिविधि निरन्तर रहेको तथा बजारमा सबैभन्दा ठूलो उपस्थिति रहेका बैंक तथा वित्तीय संस्थाको लाभांश क्षमतामा तत्काल सुधार हुनसक्ने अवस्था नदेखिएको परिप्रेक्षमा धेरै आशावादी बन्नसक्ने अवस्था नभएको जानकारहरुको भनाइ छ । 


    images
    images

    Logo