काठमाडौं । यस साता नेप्से सूचक ६ अंकले घटेर १ हजार ९ सय ८ दशमलव ५५ विन्दुमा बन्द भएको छ । गत साता नेप्से सूचक १ हजार ९ सय १५ दशमलव १४ विन्दुमा बन्द भएको थियो ।
यस साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन बजार बढेको थियो भने २ कारोबार दिन घटेको छ। यस साताको पहिलो र अन्तिम कारोबार दिन नेप्से ओरालो लागेको थियो।
नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा १ अर्ब २८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औसतमा १ अर्ब १७ करोडको शेयर कारोबार भएको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण ०.१९ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन २७ खर्ब ७० अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण, यस साता घटेर २७ खर्ब ६४ अर्बमा सीमित भएको छ।
साताको पहिलो दिन आइतबार २६.८५ अंकले घटेको थियो । सो दिन १ अर्ब २७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमबार १७.७० अंकले बढेको थियो । सो दिन १ अर्ब ३३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार १२.४१ अंकले बढेर सोमबारलाई निरन्तरता दिएको थियो । सो दिन १ अर्ब ४३ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । सो दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको थियो । बुधबार सामान्य अंकले बढेको थियो । सो दिन १.०२ अंकले बढेर ७९ करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
साताको अन्तिम दिन विहीबार भने शेयर बजारमा ओरोलो लागेको थियो । सो दिन १० अंकले घटेर ८८ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
यस साता ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ। यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.४७ प्रतिशत बढेको छ। कारोबारमा आएको लघुवित्त उपसमूहको परिसूचक यस साता सर्वाधिक १.६८ प्रतिशत घटेको छ।
८ कम्पनीको बोनस शेयर सूचीकृत
यस साता नेप्सेमा ८ कम्पनीको कुल २ करोड ५४ लाख ६१ हजार ९ सय ९९ दशमलव ३२ कित्ता शेयर सूचीकृत भएको छ। यसरी सुचीकृत हुनेमा नेपाल एसबीआइ बैंक, शिखर इन्स्योरेन्स, साधना लघुवित्त, आरएसडिसी लघुवित्त, अपि पावर, नेको इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक र रिडी पावर कम्पनी रहेका छन् ।
६ कम्पनीको मुल्य समायोजन
यस साता नेप्सेमा ६ कम्पनीको शेयर मुल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा एनएलजी इस्योरेन्स, नयाँ सारथी नेपाल लघुवित्त, विजय लघुवित्त, कालिका लघुवित्त, जीवन विकास लघुवित्त र एनएमवि लघुवित्त रहेका छन् ।



