काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से १८.१६ अंक घटेर १ हजार ९ सय १५ दशमलव १४ विन्दुमा झरेको छ । यस साता ४ कारोबार दिन बजार खुलेको थियो। जसमध्ये १ कारोबार दिन मात्र बजार बढेको थियो।
यस साता नेप्सेको कुल बजार पूँजीकरण २३ अर्ब रुपैयाँ घटेको छ। गत साता २७ खर्ब ९३ अर्ब रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता घटेर २७ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ।
साताको पहिलो दिन आइतबार ९.१४ अंकले घटेर १ हजार ९ सय २४ दशमलव १७ विन्दुमा पुगेको छ । सो दिन १ अर्ब ६ करोड रुपैयाँ बराबर रकममा कारोवार भएको भएको थियो । त्यस्तै, सोमबार २२.६५ अंकले बढेर १ हजार ९ सय ४९ दशमलव ०६ विन्दुमा पुगेको थियो । सो दिन १ अर्ब २९ करोड रुपैयाँ बराबरमा कारोवार भएको थियो । सोमबार नेप्सेसँगै कारोबार रकम पनि बढेको थियो ।
त्यस्तै, मंगलबार घोडेजात्रा परेकोले बजार बन्द भएको थियो भने बुधबार १५.७६ अंकले घटेर १ हजार ९ सय ३३ दशमलव २९ विन्दुमा पुगेको थियो । सो दिन १ अर्ब ३३ करोड कारोबार भएको थियो । सो दिन नेप्से घटेपनि कारोबार रकम भने बढेको थियो ।
साताको अन्तिम दिन विहीबार १८.१५ अंकले घटेर १ हजार ९ सय १५ दशमलव १४ विन्दुमा पुगेको थियो । सो दिन १ अर्ब ४१ करोड रुपैयाँमा कारोवार भएको थियो ।
१३ उपसमूहमध्ये यस साता ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ। यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.३७ अंक बढेको छ। लघुवित्त उपसमूहको परिसूचक यस साता सर्वाधिक २.६२ प्रतिशत घटेको छ।
अंकका आधारमा यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक २८.८४ अंक बढेको छ भने जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १८६.०५ अंक घटेको छ।
यस साता नेप्सेमा ८ कम्पनीको कुल ४ करोड ६५ लाख ६९ हजार ५ सय ६३ दशमलव २८ कित्ता शेयर सूचीकृत भएको छ। यस साता विन्ध्यबासिनी हाइड्रोपावर, सिद्धार्थ बैंक, लुम्बिनी विकास बैंक र शाइन रेसुङ्ग डेभलपमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो भने माया खोला हाइड्रोपावर, सुपरमाइ हाइड्रोपावर, कालिञ्चोक दर्शन र एशियन हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत भएको हो।



