सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले स्थानियबासी तथा बैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुका लागि निश्काशन गरेको आईपीओ आज बाँडफाँट गरेको हो ।
कम्पनीले स्थानियबासी ईलाम जिल्लामा स्थाई बसोबास गर्ने व्यक्तिहरुको लागि निष्काशन गरेको ११ लाख२० हजार कित्ता शेयर र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको ४ लाख ३६ हजार ८ सय कित्ता शेयर कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा बाँडफाँड सम्पन्न गरेको छ ।
स्थानियबासीको हकमा १० कित्ता देखि ३ हजार कित्तासम्म आबेदन दिने आवेदकहरुलाई माग बमोजिम, ३ हजार १ सय ५० कित्ता देखि १० हजार कित्तासम्म आवेदन दिने आवेदकहरुलाई ३ हजार ८० कित्ता र ३ हजार १ सय ५० कित्ता देखि १० हजार कित्तासम्म आवेदन दिने ६५ जना मध्ये गोलाप्रथाबाट ४९ जनालाई थप १० कित्ता गरी जम्मा ११ लाख २० हजार कित्ता शेयर बाँडफाँट गरिएको छ ।
त्यस्तै, विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको हकमा १० कित्ता देखि ३० कित्ता सम्म आबेदन दिने आवेदकहरुलाई माग बमोजिम, ४० कित्ता देखि ५ हजार कित्तासम्म आवेदन दिने आवेदकहरुलाई ३० कित्ता र ४० कित्ता देखि ५ हजार कित्तासम्म आवेदन दिने ९ हजार ५ सय ४१ जना मध्ये गोलाप्रथाबाट ६ हजार ८ सय ३२ जनालाई थप १० कित्ता गरी जम्मा ४ लाख ३६ हजार ८ सय कित्ता शेयर बाँडफाँड भएको हो ।



