काठमाडौं । भक्ति थापालाई राष्ट्रिय विभुति घोषणा गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को असार १० गते बसेको बैठकले थापालाई राष्ट्रिय विभुति घोषणा गरिएको हो ।
नेपालको नामलाई विश्वमा फैलाउन विभिन्न कालखण्डमा योगदान गर्ने व्यक्तिहरुलाई राष्ट्रिय विभुती घोषित गरिँदै आइएको छ । हालसम्म १६ जना राष्ट्रिय विभुती रहेकोमा अब यो संख्या १७ पुगेको छ ।
को को छन् राष्ट्रिय विभुति ?
अंशुवर्मा, अमरसिंह थापा, अरनिको, गौतम बुद्ध, जनक, पासाङ ह्लामु शेर्पा, पृथ्वीनारायण शाह, बलभद्र कुँवर, भानुभक्त, आचार्य, भीमसेन थापा, महागुरु फाल्गुनन्द, मोतिराम भट्ट, राम शाह, शङ्खधर शाख्वा, श्री ५ त्रिभुवन, सीता, भक्ति थापा ।
को हुन् भक्ति थापा ?
भक्ति थापा नेपाल–अँग्रेस युद्धका एक सिपाही हुन् । उनले सन् १८१५ मा हाल भारतको उत्तराखण्डमा पर्ने देउथल क्षेत्रमा अँग्रेससँगको युद्धमा वीरगति प्राप्त गरेका थिए । त्यतिबेला उनी ७३ वर्षका थिए ।
उनको जन्म लमजुङमा भएको हो । गोरखा एकीकरणको समयमा लमजुङसँगको युद्धमा उनी गोरखाको विपक्षमा युद्ध लडेका थिए । तर, लमजुङ पराजीत भएर गोरखा राज्यमा समाहित भएपछि उनी नेपाल एकीकरणको अभियानमा सहभागी भएका थिए ।
उनको सहासको सम्मान गर्दै तात्कालिन अँग्रेज फौजले दोसल्ला ओढाएर उनको सम्मान गरेको थियो ।



