काठमाडौं । ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बिहीवार साल्ट ट्रेडिङकर्पोरेशन, साना किसान लघुवित्त र सांग्रिला डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
यी कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि साल्ट ट्रेडिङकर्पोरेशन फागुन २६ गते र साना किसान लघुवित्त र सांग्रिला डेभलपमेन्ट बैंकले २८ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । फागुन २६ र २७ गते शुक्रवार र शनिवार परेकाले शेयर बजार बन्द रहनेछ । तसर्थ, फागुन २५ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त साधारण सभामा सहभागि हुन पाउँनेछन् ।
साल्ट ट्रेडिङ कर्पोरेशन कम्पनीले चैत १० गते साधारणसभा बोलाएको छ । उक्त कम्पनीले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस्तै, साना किसान लघुवित्तले चुक्ता पुँजीको २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १.३६८४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न चैत १० गते साधारणसभा बोलाएको छ।
सांग्रिला डेभलपमेन्ट बैंकले चुक्ता पुँजीको ८.५३४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ०.४४९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न चैत १७ गते साधारणसभा बोलाएको छ।
यस अनुसार फागुन २५ गतेसम्म कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।



