काठमाडौं । २ इन्स्योरेन्स कम्पनीले आजदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । बुधवारदेखि सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीले एकिकृत कारोबार गर्न लागेका हुन् ।
यी दुइ कम्पनी बिच १ः१ को स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको छ । मर्जर पश्चात सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट कारोबार गर्ने भएको छ । सो नामबाट कम्पनीको एकिकृत कारोबार आजबाट सुरु हुन लागेको कम्पनीले जनाएको छ ।
मर्जरपछि बन्ने नयाँ कम्पनीमा साविक सिद्धार्थ इन्स्योरेन्स कम्पनीका बिरेन्द्र बैदवार प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्नेछन् भने कम्पनीको केन्द्रीय कार्यालय बबरमलमा नै रहनेछन् । एकिकृत कारोबार प्रयोजनका लागि दुबै कम्पनीको शेयर कारोबार आजदेखि रोक्का हुने भएको छ ।
प्रचलित नियम अनुसार मर्जरको सहमति पश्चात आधारभुत शेयरधनीहरुको मात्रै शेयर कारोबार रोक्का रहन्छ । तर एकिकृत कारोबार भएको दिनदेखि १५ दिनसम्म भने सबै शेयरधनीहरुको शेयर कारोबार रोक्का हुने व्यवस्था रहेको छ ।
हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३९ करोड रुपैयाँ रहेको छ भने प्रिमियरको चुक्ता पुँजी १ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । मर्जर पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड पुग्ने कम्पनीले जनाएको छ ।



