काठमाडौं । नेपालमा धान खेतीको उत्पादकत्व निरन्तर बढ्दै गएको पाइएको छ । खेती भएको क्षेत्रफल र उत्पादनको आधारमा प्रत्येक वर्ष धान उत्पादनको दर बढ्दै गएको हो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा नेपालमा ५२ लाख ३० अजार मेट्किटन धान उत्पादन भएको थियो । त्यस वर्ष १५ लाख ५२ हजार हेक्टरमा रोपाइँ भएको थियो । यो आधारमा प्रतिहेक्टर ३.३७ मेट्रिकटनका दरमा धान उत्पादन भएको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा आइपुग्दा कुल खेती हुने क्षेत्रफल खुम्चिएर १४ लाख ७३ हजार हेक्टरमा सीमित भएको छ । तर, यो वर्ष कुुल उत्पादन बढेर ५६ लाख २१ हजार मेट्रिकटन पुगेको छ । क्षेत्रफल र उत्पादनको आधारमा यो उत्पालकत्व ३.८२ मेट्रिकटन प्रतिहेक्टर हो ।
यस्तो उत्पादकत्व आर्थिक वर्ष २०७४/७५ मा ३.५१ मेट्रिकटन, आर्थिक वर्ष २०७५/७६ मा ३.७६ मेट्रिकटन, आर्थिक वर्ष २०७६/७७ मा प्रतिहेक्टर ३.८० मेट्रिकटन प्रतिहेक्टर थियो ।
कृषि मन्त्रालयले यो वर्ष धानको उत्पादन बढी हुनुमा मौसम र श्रमिकको उपलब्धतालाई प्रमुख कारण मानेको छ । अघिल्लो वर्ष जेठ अन्तिमदेखि नै मनसुन सक्रिय रहेको तथा लकडाउनका कारण श्रमिक समेत सहज रुपमा पाइएको कारण उत्पादनमा वृद्धि भएको मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरे बताउँछन् ।
यद्यपि यो वर्ष किसानहरुले मलको भने चरम अभावको सामना गर्नुपर्यो । धानलाई लगाउने बेलामा डीएपी र पछि युरिया मल चाहिन्छ । तर यस वर्ष दुवै प्रकारका मलको चरम अभाव भएको थियो । यसका बाबजुद मौसम र श्रमिकको उपलब्धताले धान उत्पादनमा कमी हुन पाएन ।
कुन प्रदेशमा कति फल्यो धान ?
धान उत्पादनका लागि प्रदेश २ र प्रदेश १ मुख्य स्रोतको रुपमा रहेको छ । चालुु आर्थिक वर्षमा प्रदेश २ मा १४ लाख ३२ हजार मेट्रिकटन तथा प्रदेश १ मा १२ लाख ७५ हजार मेट्रिकटन धान उत्पादन भएको जनाइएको छ ।
त्यस्तै लुम्बिनीमा १२ लाख २४ हजार मेट्रिकटन, सुदूरपश्चिममा ६ लाख ४४ हजार, बागमतीमा ५ लाख ९ हजार, गण्डकीमा ३ लाख ९७ हजार र कर्णालीमा १ लाख ३७ हजार मेट्रिकटन धान उत्पादन भएको अनुमान गरिएको छ ।



