काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन कार्यालय बाँकेका तत्कालीन कार्यकारी निर्देशकसहित ५ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन कार्यकारी निर्देशक दीपकबहादुर बुढाथोकीसहित ६ जनाविरुद्ध १ लाख ५६ हजार ५ सय ५३ रुपियाँ भ्रष्टाचार आरोपको मुद्दा दायर भएको हो ।
पर्यटन विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रकम निकासा भएकोमा निर्देशक बुढाथोकीसहित तत्कालीन सव–इन्जिनियर ललन कुमार मण्डल र खप्तड क्षेत्र पर्यटन विकास समितिका तत्कालीन सव–इन्जिनियर दिपेश महताराले खप्तड लसके खानेपानी योजना निर्माण कार्य फिल्डमा भएकोभन्दा बढी काम र परिणाम देखाई झुट्टो कार्य सम्पन्न प्रतिवेदन तयार पारेको आरोप लागेको छ ।
यसैगरी, खप्तड लसके खानेपानी योजनाको उपभोक्ता समितिका अध्यक्ष मानबहादुर रावत र सचिव वीरबहादुर बुढाले पर्यटन विकास समिति, डोटीसँग भएको सम्झौताको सर्त पालना नगरेको र गैरकानूनी लाभ लिन खोजेको आरोप लागेको आयोगले जनाएको छ ।
सो योजनाको अनुगमन समितिका संयोजक ज्ञानबहादुर शाहीले अनुगमनका क्रममा फिल्डमा सम्झौता बमोजिमको निर्माण कार्य सम्पन्न भएको भनी गलत अनुगमन सिफारिस गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।



