काठमाडौं । ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सोमवार कर्पोरेट डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
यी कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि कम्पनीहरुले फागुन १० गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । फागुन ९ गते ग्याल्पो ल्होछारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । तसर्थ, फागुन ८ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त साधारण सभामा सहभागि हुन पाउँनेछन् ।
कर्पोरेट डेभलपमेन्ट बैंकले फागुन २२ गते साधारणसभा बोलाएको छ । उक्त कम्पनीले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस्तै, ङादी ग्रुप पावरले चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ०.२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न फागुन २५ गते साधारणसभा बोलाएको छ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ६.०५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न फागुन १९ गते साधारणसभा बोलाएको छ।
यस अनुसार फागुन ८ गतेसम्म कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।



