काठमाडौं । यस साता ११२ अंकले घटेको छ । नेप्से परिसूचक ५.१४ प्रतिशत अर्थात ११२.२२ अंक घटेर २ हजार ७० दशमलव ४१ विन्दुमा झरेको छ। ४ दिनका लागि खुलेको बजार ४ कारोबार दिन नै ओरालो लागेपछि नेप्सेले सो बराबरको अंक गुमाएको हो।
यस साता नेप्से कुल बजार पूँजीकरण पनि ५.१४ प्रतिशत घटेको छ। गत साता ३१ खर्ब ४९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ६२ अर्ब रुपैयाँ घटेर २९ खर्ब ८७ अर्बमा झरेको छ।
साताको पहिलो दिन आइतबार ६०.७७ अंकले घटेर २ हजार १ सय २१ दशमलव ८६ विन्दुमा पुगेको थियो । सो दिन ३ अर्ब ४ करोड रुपैयाँ बराबरमा शेयर कारोवार भएको थियो ।
साताको दोस्रो दिन सोमबार सार्वजनिक विदा परेकोले नेप्से बन्द भएको थियो । त्यस्तै, साताको तेस्रो दिन मंगलबार नेप्से १६.४० अंकले घटेर २ हजार १ सय ५ दशमलव ४६ विन्दुमा पुगेको थियो । सो दिन १ अर्ब ७८ करोड रुपैयाँ बराबर शेयर कारोवार भएको थियो ।
त्यस्तै, साताको चौथो दिन वुधबार १३.९० अंकले घटेर २ हजार ९१ दशमलव ५६ विन्दुमा पुगेको थियो । सो दिन १ अर्ब ७३ करोड रुपैयाँ बराबरमा कारोवार भएको थियो । साताको अन्तिम दिन विहीबार २१.१५ अंकले घटेर २ हजार ७० दशमलव ४१ विन्दुमा पुगेको थियो । सो दिन १ अर्ब ६८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
१३ उपसमूहमध्ये यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ७.४५ प्रतिशत घटेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक यस साता सबैभन्दा कम २.२६ प्रतिशत घटेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ७०२.९९ अंक घटेको छ।
यस साता नेप्सेमा ४ कम्पनीको २ करोड ३४ लाख ८ हजार ६ सय ६३ कित्ता शेयर सूचीकृत भएको छ। यस साता ग्लोबल आइएमई बैंक, नेशनल लाइफ इन्स्योरेन्स र हिमालयन डिष्टिलरीको बोनस शेयर सूचीकृत भएको हो भने युनिक नेपाल लघुवित्तको आईपीओ सूचीकृत भएको हो।



