images
images

पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा


  • 236
    SHARES
  • २०७९ फाल्गुण ५ गते शुक्रबार

    पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा

    काठमाडौं । यस वर्षको महाशिवरात्रि मेला २०७९ लाई मध्यनजर गर्दै नेपाल प्रहरीले पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षाका लागि पाशुपत र आसपास क्षेत्रमा ३ हजारभन्दा बढी पोशाक र त्यतिकै सङ्ख्यामा सादा पोशाकका प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । पशुपतिनाथ क्षेत्रमा आज शुक्रबारदेखि नै प्रहरी परिचालन हुनेछन् ।

    महाशिवरात्रिलाई मध्यनजर गरेर सशस्त्र प्रहरीले समेत आफ्नो १ हजारभन्दा बढी जनशक्ति परिचालन गर्ने भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार व्यवस्थित तरिकाले दर्शन गर्न पाउने व्यवस्थाका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । यस वर्ष कसैलाई पनि मन्दिर प्रवेशको पास दिइएको छैन । यसैगरी पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजालगायत नशालु पदार्थ पूर्णरूपमा बेचबिखन र सेवनसमेतमा प्रतिबन्ध लगाइएको छ ।
     
    दर्शनका क्रममा असहज भएका दर्शनार्थीका लागि ठाउँ–ठाउँमा प्रहरी हेल्फ डेस्क, एम्बुलेन्सलगायतको सेवाका लागि समेत टोली खटाइएको प्रहरीले जनाएको छ । भोलि शनिबार हुने महाशिवरात्रि मेलालाई मध्यनजर गर्दै पशुपति क्षेत्रमा साधु–सन्तको घुइँचो बढेको छ । 

    यस वर्ष शिवरात्रि मेलामा कम्तीमा पनि २० लाखभन्दा बढी दर्शनार्थी आउने अनुमान गरिएको र शान्ति सुरक्षा पनि बलियो बनाइएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए ।
     
    शिवरात्रिलाई लक्षित गर्दै महानगरीय ट्राफिक महाशाखाले १० वटा रुटमा पूर्णरूपमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ । चावहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ यस्तै सिफल चौरबाट जगबागेश्वरीतर्फ, लामापोखरी कुटुबालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ, तिलगङ्गाबाट गौशलातर्फ सवारी आवागमन निषेध गरिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

     


    images
    images

    Logo