images
images

महानगरले गर्यो ४३ जना शिक्षण सहजकर्ता र सहयोगी परिचालन


  • 204
    SHARES
  • २०७९ फाल्गुण ३ गते बुधबार

    महानगरले गर्यो ४३ जना शिक्षण सहजकर्ता र सहयोगी परिचालन

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता र सहयोगी गरी ४३ जना  परिचालन गरेको छ ।   

    एसइई नतिजा सुधार गर्नकै लागि काठमाडौँ महानगरपालिकाले अनिवार्य ५ विषयका लागि १८ जना विषयगत शिक्षण सहजकर्ता नियुक्त गरी काममा विद्यालयमा पठाएको हो । त्यसैगरी शिक्षण सहयोगीका रूपमा २५ जना परिचालन गरेको जनाएको छ । यसका लागि महानगरले गर्यो ४३ जना शिक्षण सहजकर्ता र सहयोगी परिचालनले गत माघ ४ गते सार्वजनिकरूपमा विज्ञापन माग गरेको थियो ।  

    उक्त विज्ञापनको आधारमा दरखास्त परेकामध्येबाट काठमाडौं महानगरपालिकाले १८ जनालाई सहजकर्ताको रूपमा नियुक्त गरेको र २५ जनालाई सहयोगीको रूपमा नियुक्त गरी विद्यालयमा परिचालन गरिएको कामपाको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए ।  

    “सहजकर्ताका लागि आवश्यकता सङ्ख्या २५ रहे पनि मागअनुसार योग्यता पुगेका उम्मेदवार १८ जना मात्र रहेकाले प्रक्रिया पुर्याएर उनीहरूलाई काममा खटाइएको हो”, प्रमुख सुवेदीले भने । उहाँका अनुसार यस वर्ष एसइईमा सहभागी विद्यार्थीको सिकाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले कामपामा सञ्चालित ५९ माध्यमिक तहका विद्यालयमा अनिवार्य ५ विषयका लागि अनुभवी विज्ञ सहजकर्ता नियुक्त गरिएको हो ।  

    शिक्षण सहजकर्ताका लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृतस्तरबाट अनिवार्य अवकास भएका सम्बन्धित विषयका विज्ञ वा विभिन्न सङ्घसंस्थामा काम गरेको कम्तीमा १० वर्षको अनुभव भएका व्यक्ति रहेका छन् । 

    सहजकर्ता अनिवार्य विषय गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक र नेपाली विषय अध्यापन गराउन प्रत्येक विषयका लागि ५/५ जना आवश्यक भए पनि सोहीअनुसारको सङ्ख्या प्राप्त नभएको काठमाडौं महानगरपालिकाको भनाइ छ । दुई महिनासम्मका लागि नियुक्त गर्न लागिएको शिक्षण सहजकर्ताका लागि कामपाले मासिक ३७ हजार ५ सय रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने छ । 

    त्यसैगरी शिक्षण सहयोगीका लागि सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा २ वर्ष शिक्षण अनुभव भएको व्यक्ति हुनुपर्नेछ । सहयोगीका लागि पारिश्रमिक रु १५ हजार तोकिएको छ । हाल कामपामा ८९ सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय रहेका छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन् । त्यसैगरी ५ सय ४० निजी विद्यालयमा १ लाख ५० हजार विद्यार्थी अध्ययनरत रहेका छन । यस वर्ष काठमाडौं महानगरपालिकाको सार्वजनिक विद्यालयबाट एसइई परीक्षामा ४ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।  

    काठमाडौं महानगरपालिकाले पहिलोपटक सुरु गरेको यस कार्यक्रमको प्रभावकारितालाई हेरी आगामी वर्ष थप विस्तार गर्ने तयारी काठमाडौं महानगरपालिकाको रहेको छ । निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयमा एसइई नतिजा राम्रो नभए पनि काठमाडौं महानगरपालिकाले अनिवार्य विषयका लागि सहयोगीका रूपमा शिक्षक नियुक्त गरी नतिजा सुधार गर्ने प्रयास गरेको हो । यस वर्षको एसइई परीक्षा आगामी चैत १७ गतेदेखि सञ्चालन हुने तालिका सार्वजनिक भइसकेको छ ।  


    images
    images

    Logo