images
images

बुटवलको ६४औं स्थापना दिवस भोली, पश्चिमकै नमुना सहर बन्दै


  • 327
    SHARES
  • २०७९ फाल्गुण २ गते मंगलबार

    बुटवलको ६४औं स्थापना दिवस भोली, पश्चिमकै नमुना सहर बन्दै

    बुटवल । बुटवल उपमहानगरपालिकाले बुधवार ६४औं स्थापना दिवस मनाउँदैछ । बटौली बजारलाई २०१६ साल फागुन ३ गते बुटवल–खस्यौली नगरपालिका घोषणा भएको अवसर पारेर हरेक वर्ष फागुन ३ गते बुटवलले स्थापना दिवस मनाउँदै आएको छ । 

    बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयका अनुसार स्थापना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तरगत बुधबार मूल समारोह तथा सम्मान कार्यक्रम आयोजना गरिन लागिएको हो । सप्ताहव्यापी कार्यक्रमअन्तरगत अन्तरपालिका जनप्रतिनिधि मैत्रीपूर्ण फुटबल, पत्रकार र राजनीतिक दलबीच भलिबल, कर्मचारीहरुका बीचमा भलिबल, टेबुलटेनिस, घैटोफोरलगायतका कार्यक्रम सम्पन्न भएको प्रमुख  पाण्डेयले जानकारी दिए ।
     
    नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधिसभा सदस्य धनराज गुरुङको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा स्थानीय राजनीतिक दल, सामाजिक संस्थाका प्रतिनिधिलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। बुधबारको सोहि कार्यक्रममा बुटवलभित्रका उत्कृष्ट करदाता, उत्कृष्ट कर्मचारी, उत्कृष्ट टोल विकास संस्था, उपभोक्ता समिति, उत्कृष्ट निर्माण व्यवसायीलगायतलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम रहेको उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् ।

    त्यसैगरी मूल समारोह  अन्तरगत विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गर्ने र सहभागीमध्ये उत्कृष्टलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए । 

    मुन्निलालदेखि खेलराजसम्मको नेतृत्व

    तत्कालीन बुटवल खस्यौली नगरपालिकाको पहिलो नेतृत्व मुन्निलाल शाक्यले (२०१६–२०१७ साल) गरेका थिए । शाक्यपछि ओमशंकर श्रेष्ठ (२०१९–२०२३ साल), परीक्षितप्रसाद लाकौल (२०२४–२०२६ साल), सरस्वतीप्रसाद शेरचन (२०२६–२०२८ साल र पुनः २०३३ देखि २०३६ साल) नेतृत्व गरेका थिए । त्यसैगरी हरिबहादुर सिंह (पहिलो पटक २०२८मा प्रधानपञ्चमा र यो सहित चार–पटकसम्म प्रधानपञ्च), सूर्यलाल वि.सं.(२०३०), बृजमान श्रेष्ठ (२०३६–२०३९) प्रधानपञ्च रहेका थिए । 

    प्रजातन्त्र पुनःस्थापनापछि भएको स्थानीय चुनावमा सू्र्यप्रसाद प्रधान (२०४९–२०५३) र भोज प्रसाद श्रेष्ठले (२०५४–२०५९) नगरप्रमुख रूपमा नेतृत्व गरेका थिए । सूर्यबहादुर थापा नेतृत्वको सरकारबाट मनोनित भएर २०६० सालमा पुनाराम पोखरेलले पनि नगरप्रमुख भएर केही समय नेतृत्व गरेका थिए ।माघ १९ पछिको शाही सरकारले गराएको नगरपालिका चुनाबबाट रुपसिंह थापा थोरै समयको लागि नगरप्रमुख बनेपनि लोकतन्त्र स्थापना पछिको सरकारले सो निर्वाचन खारेज गरेको थियो । 

    १५ वर्ष जनप्रतिनिधिविहीन भएको बुटवल उपमहानगरपालिकामा २०७४ साल असारमा भएको निर्वाचनबाट शिवराज सुवेदी प्रमुख र गोमादेवी आचार्य उपप्रमुख भई कार्यभार सम्हालेका थिए । नेपालको संविधान कार्यान्वयन भएपछिको दोश्रो कार्यकालका लागि २०७९ वैशाख ३० मा भएको निर्वाचनबाट नगर प्रमुखमा खेलराज पाण्डेय र उपप्रमुखमा सावित्रादेवी अर्याल निर्वाचित भई हाल नेतृत्वमा छन् । 

    बटौली, खस्यौलीदेखि नयाँ बुटवलसम्म

    पञ्चायती व्यवस्थामा बुटवल–खस्यौली नगरपञ्चायत भनिएपनि २०४६ सालपछि बुटवल नगरपालिका भन्न थालिएको थियो । २०७१ साल मंसिरमा उपमहानगरपालिकामा स्तरोन्नति भएको बुटवल पश्चिम नेपालकै प्रमुख शहरका रुपमा परिचित छ । विगतमा अहिलेको मुख्य बजार भन्दा तिनाउ पारी थियो बटौली बजार । २० को दशकतिर वारी खस्यौलीमा पनि बजार र बस्ती बस्न थाले । २०३५ सालमा बटौली क्षेत्रमा रहेको नगरपालिकाको कार्यालय पनि अहिलेको कार्यालय भएको ठाउँ हाटबजार लाइनमा सर्यो । 


    खस्यौलीमा पूर्वाधारहरु थपिदैँ गएपछि बजारले बुटवल शहरको रुप लियो । र, बुटवलबाट दक्षिण र पश्चिम बस्ती विस्तार हुँदै गयो । पछिल्लो समय बुटवल मुलुकको महत्वपूर्ण अनि पूर्वाधारयुक्त शहरको रुपमा स्थापित छ । ६ लेनका फराकिला सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थलजस्ता राष्ट्रिय स्तरका संरचनाले बुटवलको ख्याति फैलदो छ ।

     देवीनगर, मगरघाटमा बनेका पक्की पुलले विभिन्न ठाउँमा जाने मार्गलाई सहज बनाएको छ । बुटवल भौतिक पूर्वाधारमा मात्रै नभई मानव संसाधनका दृष्टिले अगुवा शहरका रुपमा स्थापित हुने नगर प्रमुख खेलराज पाण्डेय बताउछन् । भन्छन्, ‘यो ५ वर्षमा बुटवलले आफुलाई देशकै अगुवा शहरका रुपमा स्थापित गर्नेछ ।


    images
    images

    Logo