बुटवल । बुटवलमा फागुन ४ गतेदेखि चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ हुने भएको छ । प्रतियोगिता आयोजक समितिले मंगलबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।
प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिता संयोजक हरि प्रसाद श्रेष्ठका अनुसार प्रतियोगितामा सामुदायिक १६ र संस्थागत २२ गरी ३८ विद्यालयका एक हजारबढी विद्यार्थीको सहभागिता रहने छ ।
प्रतियोगिताअन्तरगत फिल्ड हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेलमा ४ सय ९४ टीमका १ हजार ९१ विद्यार्थी सहभागी हुने संयोजक श्रेष्ठले बताए ।
प्रतियोगितामा सहभागी हुने खेलाडीको सुरक्षालाई ध्यानमा राखेर सबै खेलाडीको एक महिनाको बीमा गरिन लागिएको छ । प्रतियोगिता आयोजक समितिका सचिव प्रेमबहादुर बस्नेतका अनुसार प्रथम, द्वितिय र तृतीय हुने विद्यालयलाई क्रमशः १५, १० र ५ हजार रुपैयाँ र नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रचारप्रसार उपसमिति संयोजक सी। पी। खनालका अनुसार खेलको व्यवस्थापन तथा सञ्चालनका लागि वडा नं ५ का अध्यक्षसमेत रहेका पूर्वखेलाडी हरिप्रसाद श्रेष्ठको नेतृत्वमा मूल समिति र विभिन्न विधागत उपसमितिहरु गठन गरिएको छ ।प्रतियोगिताको उद्घाटनका दिन कालिका मानवज्ञान माध्यमिक विद्यालयले स्वागत पीटी प्रदर्शन, नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयले बहुसांस्कृतिक कार्यक्रमलगायतका सांस्कृतिक कार्यक्रम र प्रस्तुति रहने संयोजक खनालले बताए ।



