चरिकोट । विगत १० वर्षदेखि दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ परीक्षण सम्पन्न भएको छ । स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले वैशाख १६ गते देखि मुख्य सुरुङमा पानी पठाएर परीक्षण सुरु गरेको थियो । आइतबार बिहान परीक्षण सफल भएको आयोजनाले जनाएको छ ।
सूक्ष्म रूपमा संरचना र उपकरणको परीक्षण ग िएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । पूरै सुरुङमा अन्तिम पटक आइतबार बिहानसम्म ४८ घण्टा पानी राखेर परीक्षण गर्दा पानी कहीँकतै बाट नचुहिएपछि सुरुङ परीक्षण सफल भएको उनले बताए ।
अहिले पहिलो युनिटको सोक टेस्ट गरी २४ घण्टासम्म अवलोकन तथा अनुगमन भइरहेको छ । सुरुमा इन्टेक कल्भर्ट र बालुवा थिग्य्राउने पोखरीमा पानी भरेर चरणवद्ध रूपमा ८.४ किलोमिटर लामो मुख्य सुरुङ र एक हजार १६५ मिटरको पेनस्टक पाइपमा पानी छोड्दै, रोक्दै अनुगमन र परीक्षण गरिएको थियो ।
त्यसैगरी माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनसम्म पु¥याउन रामे छापको फुलासीस्थित २२०÷१३२ केभीको सबस्टेसनमा जोड्न चारवटा मल्टिसर्किट टावरमा तार टाँग्ने कार्य भइरहेको छ । त्यसका लागि आइतबार बिहानदेखि नेपाल विद्युत् प्राधिकरणले खिम्ती लामो साँगु १३२ केभीको प्रसारण लाइन सर्टडाउन गरी काम गरिरहेको छ ।
मल्टिसर्किट टावरमा तार टाँग्ने काम करिब तीन दिनमा सकिने र आवश्यक परीक्षण गरेपछि आउँदो हप्ता पहिलो युनिटबाट उत्पादित ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने प्रवक्ता न्यौपानेले जानकारी दिए । आयोजनामा ७६÷७६ मे गावाटका छ वटा युनिट जडान गरिएको छ । पहिलो युनिटबाट विद्युत् उत्पादन भएको एक हप्तापछि दोस्रो युनिट सञ्चालनमा आउने र भदौभित्र सबै युनिटबाट विद्युत् उत्पादन हुने उनले बताए ।



