images
images

सत्ती पुलको स्ल्याब कटान भएपछि आवतजावत बन्द


  • 506
    SHARES
  • २०७८ आषाढ १३ गते आइतबार

    सत्ती पुलको स्ल्याब कटान भएपछि आवतजावत बन्द

    टिकापुर । कर्णाली नदी कटानले कैलाली–बर्दिया जोडने हुलाकी राजमार्गमा रहेको सत्ती पुल अवरुद्ध भएपछि हजारौ नागरिकको सम्पर्क टुटेको छ । दैनिक हजारौँ नागरिक आवतजावत गर्ने सत्ती पुलको स्ल्याब कटान भएपछि आवतजावत बन्द भएको छ । कर्णाली नदीमा पानीको बहाव बढेपछि पुलको स्ल्याब कटान हुँदा सुदूरपश्चिम र लुम्बीनी प्रदेश जोड्ने यो बाटो बन्द भएको छ । सत्ती पुल भएर दैनिक हजारौँ नागरिक र सयौँ सवारीसाधन आवतजावत गर्ने गर्दथे । 

    शनिबार दिउँसो कर्णाली नदीको पूर्वी भागमा पुलको स्ल्याब कटान गरेपछि हुलाकी राजमार्ग पूर्णतया अवरुद्ध भएको हो । कर्णाली नदीको बहाव पूर्वपट्टि हान्दै गएकाले पहिलेदेखि नै त्यहाँ पुलको स्पान थप्नुपर्ने स्थानीयवासीको माग थियो तर समयमै काम नहुँदा नदी कटानले बाटो अवरुद्ध भएको हो । नदीले पुलको स्ल्याब कटान भएपछि कैलाली र बर्दिया नियमित चल्ने बस तथा सवारी साधन वारि र पारि रोकिएका छन् । राजापुरका स्थानीयवासी विक्रम कायस्थ खेतीपातीको समयमा वारिपारि गर्ने नागरिकलाई अझ बढी समस्या भएको बताए ।

    बर्दियाको राजापुरका अधिकांंश नागरिक उपचार र किनमेल जस्ता कार्य गर्न टीकापुर आउने गर्दछन् । पुल भत्किँदा यी सबैलाई समस्या भएको छ । पाँच वर्षअघि पुल निर्माण सम्पन्न भएकै वर्ष दुईवटा स्पान थप्नुपर्छ भन्ने माग भए पनि काम नभएपछि यस्तो अवस्था आएको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाको भनाइ छ । हामीले पुल निर्माणकै क्रममा बर्दियातर्फ दुई स्पान थप्न आग्रह ग¥यौैँ, कसैले सुनेनन्, उनले भने, पाँच वर्षसम्म त निर्माण कम्पनीले हरेक बर्सात पुलपारि तटबन्ध गरेर पुल जोगायो तर गत वर्ष निर्माण कम्पनीको सम्झौता म्याद सकियो । यस वर्ष पुल नै रहेन ।

    वडाध्यक्ष ठुकल्लाले समयमै ध्यान नदिएकै कारण अहिले ठूलो क्षति भएको बताए । पुल भत्केपछि कैलाली र बर्दिया जिल्लाको व्यापारिक विकासमा वाधा पुगेको स्थानीयवासी बताउँछन् । आवतजावत बन्द हुँदा टीकापुर– ८ श्रीलङ्कामा बसिरहेका ४० परिवारसँगको सम्बन्धसमेत टुटेको छ । श्रीलङ्कामा वर्षे धान खेती गर्ने समयमा त्यहाँ आवतजावत गर्ने सम्पर्क टुटेको स्थानीयवासी रमा बुढाले बताए।

    राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरीले अब विकल्पका रूपमा पुलबाट करिब पाँच किलोमिटर उत्तरको दौलतपुर घाटस्थित डुङ्गाबाट आवातजावत गर्नुपर्ने अवस्था आएको बताए । अब पुलबाट आवतजावत गर्ने अवस्था छैन । अब नागरिकले पुनः डुङ्गाबाट आवतजावत गर्नुपर्ने बाध्यता आइलागेको छ, प्रमुख चौधरीले भने, पुल बनेपछि सुख पाएका नागरिकलाई पुनः जोखिमपूर्ण यात्रा गर्नुपर्नेछ । 


    images
    images

    Logo