images
images

जनकपुर–जयनगर रेल सेवा यसै महिनाबाट, १५ रुपैयाँमै रेल चढ्न पाइने


  • 1.1K
    SHARES
  • २०७८ आषाढ १३ गते आइतबार

    जनकपुर–जयनगर रेल सेवा यसै महिनाबाट, १५ रुपैयाँमै रेल चढ्न पाइने

    काठमाडौं । जनकपुर–जयनगर जोड्ने रेल सेवा सञ्चालनका लागि जनशक्ति र प्रविधि उपलब्ध गराउन नेपाल रेलवे कम्पनी र भारतीय कम्पनी कोन्कणबीच सेवा सम्झौता (सर्भिस कन्ट्याक्ट) भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले असारभित्र नै जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्ने गृहकार्य स्वरूप भारत सरकारको मातहतमा रहेको भारतीय रेलवे कम्पनी कोन्कणबीच सम्झौता भएको जानकारी दिए । 

    सो रेल सेवा असारभित्रमा नै सञ्चालनमा ल्याउने गरी तयारी सुरु गरिएको बताउँदै उहाँले रेल सञ्चालनका लागि अहिले जनशक्ति नेपालमा उपलब्ध हुन नसकेकोले रेल चालक (लोको पाइलट)सहित २६ जना जनशक्ति उपलब्ध गराउन भारतीय कम्पनीसँग सम्झौता गरिएको बताए । सम्झौताअनुसारको भारतीय जनशक्ति नेपाल आई जनकपुरमा नेपाली रेलवे कर्मचारीहरूलाई तालिम दिइरहेको छ । 

    नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्न आवश्यक जनशक्ति, प्रविधि र उपकरण उपलब्ध गराउने, मेसिन, ट्र्याक मर्मतलगायतका काम गर्ने तथा नेपाली रेलवे कर्मचारीलाई तालिम दिनका लागि नेपाल रेलवे कम्पनी र कोन्कणबीच एक वर्षका लागि सर्भिस कन्ट्याक्ट भएको जानकारी दिए । 

    सम्झौताअनुसार भारतीय कर्मचारीको तलब–भत्ता, दुवै रेलको सर्भिसिङ र मर्मत, रेलवे ट्र्याकको मर्मत, नेपाली कर्मचारीलाई प्रशिक्षण भारतीय पक्षले दिनेछन् । त्यसैगरी रेल सञ्चालनका लागि सुरुको एक महिनाको डिजेल भारतीय पक्षले नै दिने र त्यसपछि नेपाल रेल कम्पनीले आफैँ खरिद गर्ने छ । सो सेवा उपलब्ध गराएबापत नेपालले भारतीय कम्पनीलाई ३५ करोड १२ लाख रुपियाँ उपलब्ध गराउने छ । 

    नेपाल रेलवेका महाप्रबन्धक भट्टराईले भने, “नेपाली प्राविधिकले रेल सञ्चालनसम्बन्धी सीप सिकिसकेपछि नेपाल रेलवे कम्पनीको खर्च घट्नेछ र नेपालमा नै जनशक्ति उत्पादन सुरु हुनेछ ।” अहिले जनकपुरमा ७५ जना नेपाली प्राविधिकलाई भारतीयले तालिम दिइरहेका छन् । प्रक्रिया पूरारेल सेवा सञ्चालनका लागि कुनै पनि कानुनी अड्चन र समस्या नरहेको बताउँदै नेपाल रेलवेका महाप्रबन्धक भट्टराईले सो रेल सेवा सञ्चालन गर्न नेपाल र भारतबीच तयार पारिएको ‘स्ट्यान्डर्स अपरेटिङ प्रोस्युडर’ (एसओपी)मा समेत भारतले सहमति जनाइसकेको जानकारी दिए । यसअघि भारतले सहमति जनाएको थिएन । 

    रेल सञ्चालनसम्बन्धी कानुन अध्यादेशबाट आइसकेको हुनाले अब कुनै कानुनी प्रक्रिया बाँकी नरहेको उनले स्पष्ट पारे । उनका अनुसार रेलवे कम्पनीले रेल सञ्चालनका लागि टिकट र भाडादरसहितका कार्य पूरा गरिसकेका छन् । सो रेलवेको न्यूनतम टिकट १५ रुपैयाँ (एक स्टेशनबाट अर्को स्टेशनसम्म), जनकपुरदेखि जयनगरसम्मको साधारण भाडा ७५ रुपैयाँ र वातानुकूलित (एसी) कक्षको भाडा दर तीन सय रुपैयाँ तोकिएको छ । 

    उनले भने “सुरुमा बिहान, दिउँसो र बेलुका गरी दैनिक तीनपटक रेल सेवा सञ्चालन गरिने छ । सुरुमा एउटै रेल चलाइने छ । यात्रुको सङ्ख्या बढ्दै गएपछि दुइटै रेल सञ्चालनमा ल्याइने छ ।” तत्काल सो रेल सेवा नेपालको कुर्थादेखि भारतको जयनगरसम्म ३४ किलोमिटरमा सञ्चालन हुनेछन् । सो खण्डमा आठवटा स्टेशन हुने छन् । गोरखापत्र दैनिकबाट


    images
    images

    Logo