काठमाडौं । कालीगण्डकी नदीलाई तिनाउ नदीमा मिसाएर लुम्बिनी प्रदेश अन्तर्गतका रुपन्देही, कपिलवस्तु लगायत जिल्लामा सिँचाई पुुर्याउने उद्देश्यसहित सुरु गर्न लागिएको कालीगण्डकी तिनाउ डाइभर्सनप्रति गण्डकी प्रदेश सरकारले असहमति जनाएको छ ।
प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले प्रदेश सरकारलाई थाहै नदिई वुुटवलमा कार्यालय उद्घाटन गरिएको भन्दै सामाजिक सञ्जालमार्फत् आपत्ति जनाएका हुन् ।
मन्त्री खड्काले कालीगण्डकी नदी मुस्ताङबाट सुरु भएको नदी देवघाट हुँदै त्रिवेणीसम्म पुुगेको सांस्कृतिक इतिहास रहेको भन्दै यसको सांस्कृतिक, आर्थिक, पर्यावरणीय र राजनीतिक महत्व रहेको समेत उल्लेख गरे ।
गण्डकी र लुम्बिनीका लाखौं जनतासँग प्रत्यक्ष सरोकार खाख्ने सो परियोजनाको विषयमा प्रदेश सरकारलाई थाहै नदिई कार्यालय स्थापना गरिएको भन्दै उनले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको ध्यानाकर्षण समेत गराएका छन् ।
शनिबार अर्थमन्त्री पाैडेलले सो परियोजनाको कार्यालय उद्घाटन गरेका छन् ।



