काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिबारे पत्रकार महासंघ र प्रेस युनियनले आपत्ति जनाएका छन् । आइतवार पत्रकार सम्मेलनमा आफ्ना कमी–कमजोरी ढाकछोप गर्न सञ्चार माध्यम बद्नाम गर्ने ध्येयले प्रमाणहीन आरोप लगाएको भन्दै महासंघ र प्रेस युनियनले आपत्ति जनाएको हो ।
त्यस्तै, सञ्चारकर्मबाटै राजनीतिक आधारभूमि तयार पारेका लामिछानेले पत्रकारितालाई दुस्मनकोे जस्तो व्यवहार गरेर मिडियालाई घेराउ गर्नेसम्मको अभिव्यक्ति दिनु अशोभनीय भएको प्रेस युनियनको भनाइ छ । साथैप्रमाणहीन आरोप लगाएर नेपाली सञ्चारमाध्यमको विश्वसनीयतामाथि प्रश्न उठाउने काम नगर्न लामिछानेलाई युनियनले आग्रह समेत गरेको छ ।
युनियनले जारि गरेको विज्ञप्तिमा भनिएको छ,‘अदालतको फैसला अनुसार उनले गैरकानुनी रूपमा राखेको नागरिकता मात्रै नभएर समाजमा विद्यमान अन्य बेथिति, विसंगति, भ्रष्टाचार र अनियमितताको विषयमा नेपाली प्रेस अझै दृढ रूपमा प्रस्तुत हुने अठोटसमेत व्यक्त गर्दछौं ।’
त्यस्तै महासंघले लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिको महासंघ कडा शब्दमा निन्दा गरेको छ । साथै आफ्नो अभिव्यक्ति फिर्ता लिइ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग महासंघ जोडदार माग गरेको छ ।





