काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्ममा कूल १ सय ४५ उद्योग दर्ता भएका छन् । उद्योग विभागले सार्वजनिक गरेको अर्धवार्षिक अवधिको उद्योग दर्ता र विदेशी लगानी स्वीकृितको तुलनात्मक विश्लेषण तथ्याङ्कअनुसार चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा ३९ ठूला, ४१ मझौला र ६५ साना उद्योग दर्ता भएका हुन् ।
यी उद्योगमा स्वदेशी र विदेशी दुवै खालको लगानी रहेको छ । गत आवको अर्धवार्षिक अवधिको तुलनामा यस वर्षको उद्योग दर्ताको सङ्ख्या कम हो । गत आवको पुस मसान्तसम्ममा ४६ ठूला, ५७ मझौता र ५२ साना गरी कूल १ सय ५५ उद्योग दर्ता भएको विभागको तथ्याङ्कमा देखिन्छ ।
चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा दर्ता भएका १ सय ४५ उद्योगमा १ खर्ब ३९ अर्ब रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको पनि विभागले जनाएको छ । यसवर्षको अर्धवार्षिक अवधिमा आएको लगानी प्रतिबद्धता पनि गत वर्षको भन्दा कम हो । गत आर्थिक बर्षको पुस मसान्तसम्ममा १ खर्ब ९० अर्ब रुपैयाँ बराबर लगानी प्रतिवद्धता आएको देखिन्छ ।
विभागका अनुसार हालसम्म नेपालमा कूल २७ खर्ब ६६ अर्ब रुपैयाँ लगानी प्रतिवद्धतासहित ८ हजार ९ सय ९ उद्योग दर्ता भएका छन् । यस्ता उद्योगमा ठूला उद्योग १ हजार ३ सय ४४, मझौता उद्योग २ हजार ५८ र साना उद्योग ५ हजार ५ सय ७ रहेका छन् ।
यसरी हालसम्म दर्ता भएका करिब ९ हजार उद्योगबाट प्रस्तावित रोजगारी ६ लाख ६७ हजार ३ सय २३ जना रहेको पनि विभागले जनाएको छ । गत पुस मसान्तसम्ममा दर्ता भएका कूल १ सय ४५ उद्योगमध्ये एक सय ३३ उद्योगमा १७ अर्ब ३० करोड रुपैयाँ बराबर विदेशी लगानीको प्रतिबद्धता आएको छ । हालसम्म नेपालमा कूल ५ हजार ६ सय ६४ विदेशी लगानी स्वीकृति भएको पनि विभागले जनाएको छ ।
यसरी विदेशी लगानी स्वीकृत भएका उद्योगमा ठूला उद्योग ३ सय २४, मझौला उद्योग ६ सय २२ र साना उद्योग ४ हजार ८ सय १८ रहेका छन् । हालसम्म स्वीकृत कूल विदेशी लगानी प्रतिबद्धता भने ४ खर्ब ३६ अर्ब रुपैयाँ बराबर रहेको विभागको तथ्याङ्कबाट देखिन्छ । यसरी विदेशी लगानी स्वीकृत गर्दा प्रस्तावित रोजगारीको सङ्ख्या २ लाख ९९ हजार नौ सय ६१ जना छ ।
नेपालमा हालसम्म साढे पाँच हजारभन्दा बढी उद्योगमा विदेशी लगानी स्वीकृत भएकामा पर्यटन र सेवामूलक क्षेत्रका उद्योगमा तुलनात्मक रुपमा बढी लगानी भएको देखिएको छ ।
गत पुस मसान्तसम्म वैदेशिक लगानी भित्र्याउने उद्योगमध्ये सेवा र पर्यटन क्षेत्रका उद्योगको सङ्ख्या मात्रै आधाभन्दा बढी छ । चालु आर्थिक बर्षको छ महिना अवधिमा एउटा प्याटेन्ट दर्ता, आठ वटा डिजाइन दर्ता र एक हजार पाँच सय ५१ ट्रेडमार्क दर्ता भएको पनि विभागले जनाएको छ ।
विभागमा हालसम्म भएको कूल पेटेन्ट दर्ताको सङ्ख्या भने ८१ छ । त्यस्तै ३ सय डिजाइन र ५७ हजार ५ सय ६६ ट्रेडमार्क दर्ता भइसकेको विभागले जनाएको छ ।



