images
images

सबै तुइन झोलुङ्गे पुलद्वारा विस्थापित, अहिलेसम्म ९ हजार झोलुङ्गे पुल निर्माण


  • 280
    SHARES
  • २०७९ माघ १९ गते बिहीबार

    सबै तुइन झोलुङ्गे पुलद्वारा विस्थापित, अहिलेसम्म ९ हजार झोलुङ्गे पुल निर्माण

    काठमाडौं । सरकारले विगतमा तुइन रहेका अधिकांश स्थानमा झोलुङ्गे पुल निर्माण गरेको छ । स्थानीयस्तरमा अरू विभिन्न प्रयोजनका लागि बनाइएका तुइनबाहेक मानिसलाई आवतजावतकै लागि आवश्यक भएर  बनाइएका  स्थानका तुइन हटाइसकिएको स्थानीय पूर्वाधार विभागले जनाएको छ । 

    कतिपय स्थानमा खोलापारि पूर्वाधार निर्माण गर्दा सामान लैजानका लागि राखिएको  तुइन नझिकिएकाले पनि अझै ठाउँठाउँमा तुइन रहेको विभागका महानिर्देशक ईश्वरचन्द्र मरहट्ठाले बताए । आ–आफ्नो क्षेत्रमा रहेका तुइन अनुगमनको काम स्थानीय तहले गर्नुपर्ने उनको भनाइ थियो ।
     
    “मानिसलाई नदी तर्न आवश्यक नै भएर भन्दा पनि रमाइलो लागेर प्रयोग गरेको हुनसक्छ,” महानिर्देशक मरहट्ठाले भने, “विभागले कुनै पनि ठाउँमा झोलुङ्गे पुल छ भन्ने खबर पाउनासाथ पुल बनाउने गरेको छ ।” 

    सरकारले २०७२ सालमा पहिचान गरेकामध्ये अधिकांश  तुइन विस्थापन गरिसकेको जानकारी दिँदै उनले त्यतिबेला देशभरमा जम्मा १ सय ४३ तुइन पहिचान भएकामा १ सय ४१ स्थानमा झोलुङ्गे पुलले तिनलाई विस्थापित गरिसके पनि पञ्चेश्वरमा भारतले सहमति नदिएर बनाउन नसकिएको र एउटा बर्दिया राष्ट्रिय निकुञ्जको समस्याले गर्दा बनाउन नसकिएको बताए ।

    तुइन देख्नासाथ विभागले झोलुङ्गे पुल बनाइहाल्ने हुँदा समस्या नआउने भए पनि महाकालीमा भारत नेपाल सीमामा पर्नेभएकाले भारतले सहमति नदिएसम्म बनाउन नसकिएको महानिर्देशक मरहट्ठाले जानकारी दिए । 

    आर्थिक वर्ष २०७२÷७३ मा महाकालीमा रहेका चारवटै तुइन हटाइएर झोलुङ्गे पुल बनाइएको थियो । त्यसपछि तुइन हालिएको र त्यो तुइन हटाएर झोलुङ्गे पुल बनाउन भारतबाट सहमति लिने प्रयास भइरहेको उनले जानकारी दिए । महानिर्देशक मरहट्ठाले  भने, “भारतीय सीमामा हामीले पहिचान गरिसकेर पनि सहमति नलिएसम्म एकातर्फीबाट बनाउन नसकिएको हो ।”


    विगतमा झोलुङ्गे पुलका लागि आवश्यक सामग्रीको समस्या रहेकामा अहिले समाधान भइसकेको विभागले जनाएको छ । पुलमा प्रयोग हुने स्टिल यहाँ उत्पादन हुने र मुख्य लट्ठा बाहिरबाट ल्याउने गरिएको छ । अघिल्ला वर्ष कोभिडले गर्दा उद्योग बन्द भएकाले  लट्ठा ल्याउन समस्या थियो ।

    त्यतिबेला स्टिलको मूल्य ह्वात्तै बढेकाले पनि डेढ दुई वर्ष अलि समस्या भए पनि अहिले भने अवस्था सामान्य छ। लट्ठा नेपालमा उत्पादन गर्ने कम्पनी नभएकाले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्नेछ । अहिले अन्तर्राष्ट्रिय बोलपत्रमा चिनियाँ वा भारतीय कम्पनीले ठेक्का पाइरहेका छन् ।

    विभागले पहिले तुइन भएका ठाउँमा मात्रै नभएर आवश्यक भएका अन्य स्थानमा पनि पुल निर्माण गरिरहेको छ । स्थानीय तह र प्रदेशबाट माग भइरहेको र त्यसको आधारमा झोलुङ्गे पुल निर्माण भइरहेको महानिर्देशक मरहट्ठाले बताए। देशभरमा अहिलेसम्म ९ हजार ७ सय ५० झोलुङ्गे निर्माण भएका छन् । 


    images
    images

    Logo