images
images

२ वर्षपछिकै उच्च विन्दुमा तेलको अन्तर्राष्ट्रिय मूल्य, निगम ७ महिनादेखि निरन्तर नाेक्सानमा

नेपाली बजारको मूल्य निर्धारणमा कर र विनिमयदर हाबी


  • 756
    SHARES
  • २०७८ आषाढ ११ गते शुक्रबार

    २ वर्षपछिकै उच्च विन्दुमा तेलको अन्तर्राष्ट्रिय मूल्य, निगम ७ महिनादेखि निरन्तर नाेक्सानमा

    २०७० सालताका अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ११५ डलरसम्म पुग्दा नेपालमा पेट्रोलको मूल्य १४० रुपैयाँ थियो । अहिले मूल्य ७५ डलर छ, तर पेट्रोल १२७ रुपैयाँ पुुगिसकेको छ । अब अन्तर्राष्ट्रिय बजारमा १० डलर मात्रै मूल्य बढ्ने हो भने पनि पेट्रोलको मूल्य सो तहमा पुग्ने देखिन्छ । यसरी मूल्य अधिक बढ्नुको मुख्य कारण कर र विनिमयदर हो ।

    काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । कोरोनाभाइरस महामारी सुरु हुनुभन्दा अघि २०१९ को अप्रिलताका पुगेको मूल्यलाई बुधबारको अन्तर्राष्ट्रिय बजारमूल्यले उछिनेको हो । 

    सन् २०१९ अप्रिल २१ मा बेलायती तेल बजार ब्रेन्टमा कच्चा तेलको मूल्य अमेरिकी डलर ७४.५१ मा कारोबार भएको थियो । सो मूल्यलाई उछिनेर बुधबार सोही बजारमा तेलको मूल्य अमेरिकी डलर ७५.१९ विन्दुमा पुग्यो । शुक्रबार यो मूल्य झनै बढेको छ । 

    बजारमा तेलको मूल्य आकाशिएको यो नौलो विषय भने होइन । त्यसअघि सन् २०१८ अक्टोबर ३ मा कच्चा तेलको मूल्य ८६.२९ डलर पुगेर ओर्लिएको थियो । त्यसअघि पनि तेलको मूल्यमा पटक पटक उतारचढाव रहँदै आएको छ । 

    तेलको मूल्य सर्वाधिक माथिल्लो विन्दुमा पुगेको भने सन् २००८ को विश्वव्यापी मन्दीताका हो । सन् २००८ जुन २ तारिखका दिन तेलको मूल्य १३९.८३ अमेरिकी डलर रेकर्ड गरिएको थियो । तर, मन्दीले गरेको यो मूल्यवृद्धि लामो समय टिकेन । २००९ को जनवरीसम्म आइपुग्दा मूल्य घटेर ५० डलरभन्दा तल झरिसकेको थियो । 

    तर, सन् २०१० को उत्तरार्द्धदेखि मूल्य फेरि बढ्न थाल्यो । यो मूल्य भने लामो समय कायम रह्यो । २०१४ को अन्त्यसम्म यस्तो मूल्य १०० डलर भन्दा माथि नै रहेको थियो । सोही मूल्यको प्रभावस्वरुप नेपालमा २०७० साल फागुनमा पेट्रोलको मूल्य १४० रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको थियो । सन् २०१४ पछि भने अन्तर्राष्ट्रिय मूल्यमा विस्तारै गिरावट हुुँदै आएका कारण नेपालमा पनि मूल्यस्तर सहज बन्दै गएको थियो ।  

    जसरी विश्वव्यापी मन्दीले तेलको मूल्य उचालेको थियो, त्यसैगरी कोरोनाभाइरस महामारीले यसलाई निकै तलसम्म पुर्यायो । बेलायती बजारमा २०२० मा यसको मूल्य २० डलरभन्दा तलसम्म झर्यो । तर, त्यसपछिका दिनमा अहिले मूल्य लगातार बढ्दै गएको छ । 

    अन्तर्राष्ट्रिय बजारमा यसरी निरन्तर मूल्य बढ्नुको कारण भनेको अरब राष्ट्रहरुले तेल उत्पादनमा कटौती गर्नु र महामारी कम भएसँगै तेलको माग बढ्दै जानुलाई प्रमुख मानिएको छ । तर, तेलको मूल्यको यो ब्यारोमिटर कहाँ गएर रोकिने हो भन्ने अनुुमान भने कसैले गर्नसक्ने अवस्था छैन । 

    नेपालमा पनि अन्तर्राष्ट्रिय बजार अनुसार तेलको मूल्य निर्धारण हुँदै आएको छ । तर, अन्तराष्ट्रिय बजारको तुलनामा नेपालमा बढी दरमा मूल्य बढिरहेको छ ।

    २०७० सालताका अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ११५ डलरसम्म पुग्दा नेपालमा पेट्रोलको मूल्य १४० रुपैयाँ थियो । अहिले मूल्य ७५ डलर छ, तर पेट्रोल १२७ रुपैयाँ पुुगिसकेको छ । 

    अब अन्तर्राष्ट्रिय बजारमा १० डलर मात्रै मूल्य बढ्ने हो भने पनि पेट्रोलको मूल्य १४० रुपैयाँ पुग्नसक्ने अवस्था रहेको जानकारहरु बताउँछन् । अन्तराष्ट्रिय मूल्य ११५ डलर पुग्ने हो भने नेपालमा मूल्य २ सय रुपैयाँको हाराहारीमा पुग्ने अवस्था देखिन्छ ।

    किन फरक पर्यो मूल्य ?

    नेपाल आयल निगमका निमित्त नायव कार्यकारी निर्देशक नागेन्द्र झा यसरी मूल्य बढ्नुुमा अन्तराष्ट्रिय मूल्यका अतिरिक्त अरु ३/४ वटा तत्वले असर गर्ने बताउँछन् । ‘अन्तराष्ट्रिय मूल्य त सबैभन्दा महत्वपूर्ण पक्ष हो नै, तर अरु २/३ वटा कुरा मुख्य प्रभाव पार्छ,’ सह भन्छन्, ‘विनिमयदर, करको दर, मुुद्रास्फीति दर यसका प्रमुख कारण हुन् ।’

    १. विनिमय दर

    अन्तराष्ट्रिय बजारमा कमजोर बन्दै गएको भारतीय मुद्रा र सो मुद्रासँग स्थिर विनिमयदर कायम गरेको नेपाली मुद्राका कारण नेपालले विनिमयदर ह्रास व्यहोर्नु परेको हो । 

    अहिलेको विनिमय दरका आधारमा अन्तर्राष्ट्रिय बजारले ८ वर्षअघिको मूल्य समात्ने हो भने नेपालमा पेट्रोलियम पदार्थको मूल्य निकै माथि पुुग्ने अवस्था रहेको निगमका निमित्त नायव कार्यकारी निर्देशक साह बताउँछन् ।

    त्यतिबेला एक अमेरिकी डलर किन्नको लागि १०० रुपैयाँभन्दा कम खर्च गर्नुपर्ने अवस्था थियो । भारतीय मुद्रामा भएको अवमूल्यनका कारण नेपाली मुद्राको विनिमयदर समेत अहिले १२० रुपैयाँको हाराहारीमा पुगिसकेको छ । यसको अर्थ विनिमय दरकै कारण अहिले तेल निकै महँगो भइसकेको छ ।

    २. करको दर

    मूल्यवृद्धिको अर्को महत्वपूर्ण कारण भनेको करको दर हो । पछिल्लो वर्ष पेट्रोलियम पदार्थमा करको दर निकै बढाइएको छ । यसको प्रभावले मूल्य महँगो पर्न गएको छ । मूल्य बढाउँदा सरकारले प्रत्येक वर्ष उपभोक्तामा अतिरिक्त भार नपार्ने भनेको हुन्छ । तर, यसको अन्तिम भार उपभोक्तामै पर्ने गरेको छ । 

    अहिले पेट्रोलियम पदार्थमा भन्सार, मूल्य अभिवृद्धि कर, पूर्वाधार कर, सडक निर्माण शुल्क र प्रदुुषण शुुल्क गरी ५ शीर्षकमा कर उठाइन्छ । अहिले १ सय २७ रुपैयाँ रहेको मूल्यमध्ये करिब ५६ रुपैयाँ सरकारले करबापत उठाउँछ । यसमध्ये पूर्वाधार कर र प्रदुुषण कर अहिले महँगो भएको छ । 

    २०७० सालमा भन्सार र मूल्य अभिवृद्धि करबाहेक सडक मर्मत दस्तुुर र प्रदुषण करको नाममा पेट्रोलमा ४.५० रुपैयाँ र डिजेलमा २.५० रुपैंयाँ उठाइन्थ्यो । अहिले यो दर पेट्रोलमा १५.५० रुपैयाँ र डिजेलमा १३.५० रुपैयाँ लगाइँदै आएको छ । अहिले पूर्वाधार कर १० रुपैयाँ र प्रदुषण कर १.५० रुपैयाँ उठाइने गरेको छ । सडक निर्माण दस्तुुर भने पेट्रोलमा ४ रुपैयाँ र डिजेलमा २ रुपैयाँलाई यथावत राखिएको छ । करकै कारण अहिले पेट्रोलियम पदार्थ प्रतिलिटर १२ रुपैयाँ महँगो भएको छ । 

    ३. ढुुवानी भाडा, कमिसन र निगमको सञ्चालन खर्च

    पेट्रोलियम पदार्थको मूल्यमा प्रभाव पार्ने तत्व भनेको पेट्रोलियम पदार्थको ढुुवानी भाडा, व्यवसायीले पाउने कमिसन र निगमको सञ्चालन खर्च समेत हो । यी खर्चहरु समेत पछिल्लो समय बढेका छन् । साहका अनुसार यी खर्च बढ्नुुमा मुद्रास्फीतिको प्रभाव रहन्छ । तर, यसको प्रभाव नगन्य मात्रै हुन्छ ।

    निगमका प्रवक्ता विनितमणि उपाध्याय पनि मूल्य निर्धारणमा यी तत्वहरुको भूमिका ज्यादै न्यून मात्रै हुने बताउँछन् । ‘पेट्रोलको मूल्यमा निगमको सञ्चालन लागत भनेको १ लिटरमा ३० पैसा हाराहारीमा मात्रै हो,’ उपाध्याय भन्छन्, ‘यसले मूल्यमा धेरै ठूलो असर गरेको अवस्था होइन ।’

    ७ महिनादेखि निरन्तर नोक्सानमा निगम

    विश्व बजारमा मूल्य बढ्दै जाँदा र नेपालमा कर बढ्दा पछिल्ला ७ महिनादेखि निगम निरन्तर नोक्सानमा छ । २०२० डिसेम्बरको उत्तराद्र्धदेखि खुुद नोक्सानमा जान थालेको हो । सो समयदेखि मे महिनाको अत्यसम्म करिब ७ महिनाको अवधिमा निगमले ९ अर्ब १४ करोड रुपैयाँ बराबरको नोक्सानी व्यहोरिसकेको जनाएको छ । यस्तो नोक्सानी मार्च महिनामा मात्रै २ अर्ब ८५ करोड थियो । 

    यो अवधिको कुल नोक्सानीमध्ये खाना पकाउने ग्यासमा ५ अर्ब २२ करोड, डिजेलमा ३ अर्ब १९ करोड र पेट्रोलमा १ अर्ब ८८ करोड रहेको छ । यो अवधिमा मट्टितेलमा २३ करोड, आन्तरिक हवाई इन्धनमा ८६ करोड र बाह्य हवाई इन्धनमा भएको करिब साढे ६ करोड नाफा रहेको निगमले जनाएको छ । 


    images
    images

    Logo