भक्तपुर । सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्व ५७ करोड रुपैंयाको बजेट सार्वजनिक गरेको छ । विहिबार नगरपालिकाको नवौं नगरसभामा उपप्रमुख जुना बस्नेतले आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ५७ करोड ६३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।
जुन अघिल्लो आवको तुलनामा ९ करोड रुपैयाँले बढी हो । नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब ४८ करोडको वजेट ल्याएको थियो । बजेटमा कोरोना महामारीबाट स्थानीयलाई बचाउन स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी कोरोनाबाट थलिएको अर्थतन्त्र चलायमान बनाउँदै विकास निर्माणका काम अघि बढाउने कार्य बजेटको प्राथमिकतामा परेको छ । स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्वाधार विकासलाई बजेटले प्राथमिकता दिएको छ ।
नगरवासीले स्वास्थ्य बीमा गर्दा प्रति परिवार एक हजार रुपैंया अनुदान दिने व्यवस्था बजेटले गरेको छ । कूल बजेटमध्ये चालुतर्फ ५१ करोड २२ रुपैँया छुट्याइएको छ । पूँजीगततर्फ ७३ करोड ९८ लाख ४७ हजार र सशर्त कार्यक्रमतर्फ ३२ करोड ४१ लाख ९५ हजार विनियोजन गरिएको उपप्रमुख बस्नेतले बताइन् ।
आगामी आर्थिक वर्ष नगरपालिकाले आन्तरिक राजस्व परिचालनबाट १८ करोड १८ लाख रुपैंया आम्दानी गर्ने लक्ष्य राखेको छ । त्यसैगरी घरजग्गा रजिष्ट्रेशनबाट २४ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ भने चालू आर्थिक वर्षको राजस्व बचतबाट २२ करोड ५६ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ ।
त्यस्तै २३ करोड ४० लाख ८० हजार रुपैयाँ संघ र प्रदेशबाट प्राप्त वित्तीय समानीकरण अनुदान प्राप्त हुने अनुमान बजेटमा गरिएको छ । बजेटमा नगरस्तरीय ठूला पूर्वाधार निर्माण आयोजनाको लागि ११ करोड ५० लाख, नगरपालिकाको प्रशासकीय भवन तथा वडा कार्यालय भवन निर्माणका लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
वजेटमा प्रत्येक वडामा कम्युनिटीहल, इ–लाइब्रेरी, खेलमैदान, फुटसल, पौडी पोखरी, जिमहल निर्माण गरिने लक्ष्य लिइएको छ । वडागत योजना कार्यान्वयन गर्न प्रत्येक वडाका लागि २ करोड ५७ लाखका दरले कूल २५ करोड ५७ लाख रुपैयाँ छुट्याइएको नगर प्रमुख वासुदेव थापाले बताए ।
थापाका अनुसार, क्रमागत योजना सम्पन्न गर्न ९ करोड ८० लाख, अस्पताल पूर्वाधार निर्माणको लागि १ करोड रुपैयाँ बजेटको व्यवस्था गरिएको छ । त्यसैगरी संघ प्रदेश र अन्य विकास साझेदारहरुसँग साझेदारी गर्न समपुरक कोषमा ८ करोड रुपैया विनियोजन गरिएको बताइएको छ ।
नवौँ नगरसभामा नगरप्रमुख वासुदेव थापाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निर्वाचनका बेला वाचा गरिएका सबै प्रतिवद्धता आगामी आर्थिक वर्षभित्र पुरा गरिने बताए । प्रमुख थापाका अनुसार, नगरपालिको हालसम्म ६७ किमी पक्की र ११ किमी कच्ची सडक निर्माण, १२ पुल, १० खानेपानी आयोजना निर्माण गरेको छ ।
त्यसैगरी, एक हजार ५ सय सडक बत्ती जडान, ११ सिँचाई कुलो निर्माण, पाँच पर्यटकीय स्थल र त्यहाँसम्म पुग्ने पहुँचमार्ग निर्माण सम्पन्न गरिएका छन् । चार वर्षको अवधिमा १७ हजार ५ सय १७ घर नक्सा पास गरिएको छ ।
सोही अवधिमा ५३ कानून निर्माण गरिएको, न्यायिक समितिबाट १ सय ३३ विवादको निरुपण गरिएको छ भने प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ सय जनालाई १ सय दिन बराबरको रोजगारी र सात हजार ९०१ जनालाई राहत वितरण गरिएको छ ।
त्यसैगरी नौ स्वास्थ्य केन्द्रको स्तरोन्नति, १६ हजार ८ सय ३७ नगरबासीको निःशुल्क पिसिआर परीक्षण, सरकारले छ हजार १ सय जनालाई कोभिशिल्ड र २१ हजार जनालाई भेरोसिल खोप लगाइएको प्रमुख थापाको भनाइ छ । सोही अवधिमा १० सामुदायिक भवन र ३४ विद्यालय निर्माण, २५ मठ मन्दिर निर्माण तथा जीर्णोद्धार गरिएका छन् ।



