सिन्धुपाल्चोक । भोटेकोसी नदीमा आएको बाढीले सिन्धुपाल्चोकको चाकुमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना जोखिममा परेको छ । चीनको स्वशासित क्षेत्रमा अविरल वर्षापछि भोटेकोसीमा बाढी आएको थियो ।
बाढीले आयोजना स्थलको बाँध र केही संरचनामा क्षति पुगेको आयोजनाले जनाएको छ । निर्माण सम्पन्न भइसकेको बाँध गत वर्षको बाढीले बगाएपछि पुनः बाँध बनाइएको थियो । पुनर्निर्माण भइरहेको बाँधलाई बाढीले बगाउने खतरा रहेको आयोजनाले जनाएको छ ।
भोटेकोसी बाढीले सो क्षेत्रका दर्जनभन्दा बढी जलविद्युत् आयोजना जोखिममा पारेको छ । बाढीले बर्सेनि आयोजनामा जोखिम बढाउँदै लगेको जलविद्युत् प्रवद्र्धक विष्णुबहादुर खत्रीले जानकारी दिए ।
मध्य भोटेकोशीले अहिले प्रवद्र्धक कम्पनीका सञ्चयकर्ताहरु तथा प्रभावित एवं स्थानीयवासीका लागि आईपीओ जारी गरिसकेको छ । आयोजना जोखिममा पर्दा सर्वसधारणले गरेको लगानी समेत खतरामा पर्ने देखिएको छ ।



