काठमाडौं । ललितपुर महानगरवासीले कोभिड संक्रमण भएर अस्पताल भर्ना भए २५ हजार रुपैयाँ राहत पाउने भएका छन् । ललितपुर महानगरपालिकाले सोमबार जारी गरेको राहतसम्बन्धी निर्देशिका अनुसार कोभिड संक्रमण भई अस्पताल भर्ना भएका र संक्रमणमुक्त भई फर्किएका महानगरवासीले उक्त राहत पाउनेछन् ।
त्यस्तै, अस्पतालमा आईसीयू वा भेन्टिलेटरमा पुगी निको भएकाले ५० हजार रुपैयाँ राहत पाउनेछन् भने कोरोनाकै कारण मृत्यु भएका मृतकका परिवारलाई १ लाख रुपैयाँ राहत दिइनेछ ।
सो राहतको वितरणसम्बन्धी कार्यका लागि महानगरपालिकाले उपमेयर गीता सत्यालको नेतृत्वमा ३ सदस्यीय समिति गठन समेत गरेको छ । संक्रमणमुक्त भएको ३५ दिन ननाघेका महानगरबासीले आवश्यक कागजातसहित राहतका लागि आवेदन दिन सक्नेछन् ।