दमौली । कोभिड–१९ विरुद्ध जुध्न हेफर इन्टरनेशनल नेपालले तनहुँको चार स्थानीय तहमा रु २७ लाख सहयोग गरेको छ ।
हेफर इन्टरेनशनले आफ्नो कार्यक्रम सञ्चालन भएका पालिकाको कोभिड कोषमा आर्थिक सहयोग गरेको हो ।
हेफरले देवघाट गाउँपालिकालाई रु १५ लाख, भिमाद नगरपालिकालाई रु चार लाख, व्यास नगरपालिकालाई रु चार लाख र शुक्लागण्डकी नगरपालिकालाई रु चार लाख सहयोग गरेको छ ।
महिला समूह समन्वय समिति, चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था र समृद्धिको लागि त्रिपक्षीय आयोगलगायतका तीन संस्थाको सहकार्यमा कोभिडविरुद्ध जुध्नका लागि देवघाटलाई रु १५ लाख सहयोग गरिएको संस्थाका चितवन जिल्ला क्लष्टर प्रबन्धक कृष्णबाबु कट्टेलले जानकारी दिए ।
उक्त रकम अक्सिजन सिलिण्डर, लिक्विड अक्सिजन, अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, आइसीयू, एक्सरे मेसिन, आइसोलेशन तथा कोभिड अस्पताल निर्माण, स्वास्थ्य सामग्री खरिदमा खर्च गर्नुपर्ने उनले बताए ।
यसैगरी भिमाद नगरपालिकालाई रु चार लाख हस्तान्तरण गरिएको छ । माझकोट महिला बहुउद्देश्यीय सहकारी संस्था, अतिप्रिय सामाजिक उद्यमी सहकारी संस्था, अरुणोदय सामाजिक उद्यमी महिला सहकारी संस्थाको तर्फबाट नगरप्रमुख मेखबहादुर थापालाई उक्त रकमको चेक हस्तान्तरण गरिएको हो ।
माझकोटकी अध्यक्ष सङ्गीता राना, अतिप्रियकी अध्यक्ष देवी मोक्तान आले र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रकी अध्यक्ष मनुमाया श्रेष्ठले नगरप्रमुख मेखबहादुर थापालाई उक्त रकमको चेक हस्तान्तरण गरे।
यस्तै हेफर इन्टरनेशनल नेपाल, नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँ र आधारशीला सामाजिक महिला उद्यमी सहकारीको त्रिपक्षीय साझेदारीमार्फत व्यास नगरपालिकालाई रु चार लाख हस्तान्तरण गरिएको छ ।
यसैगरी हेफर नेपाल, नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँ र दिदीबहिनी महिला सहकारी थप्रेकको त्रिपक्षीय साझेदारीमार्फत शुक्लागण्डकी नगरपालिकालाई रु चार लाख सहयोग गरिएको छ ।
हेफर इन्टरनेशन र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रको साझेदारीमा तनहुँमा तीन वर्षदेखि पशु वस्तुको मूल्यशृङ्खलामा आधारित साना किसानको संस्था सवलीकरण परियोजना कार्यक्रम सञ्चालित छ ।
नेपाल एकीकृत ग्रामीण विकास केन्द्रका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले अनुसार लमजुङको मध्यनेपाल नगरपालिका र सुन्दरबजार नगरपालिकालाई पनि रु चार÷चार लाख र मस्र्याङ्दी गाउँपालिकालाई रु दुई लाख सहयोग गरिनेछ ।



