भक्तपुर । मध्य रातको १ः०० बजेको थियो । बाहिर मुसल्धारे पानी सँगै चिसो बतास झ्यालबाट भित्रै पसिरहेको थियो । दुखाइको पीडा सहन नसकेर सपना (सेवा घरले राखेको नाम) को चिच्याहटसँगै शरीर पसिनाले निथ्रुक्क भिजेको थियो । त्यो भन्दा बढी म भिजिसकेको थिए उसको पिडालाई स्वीकार्न नसकेर ।
मध्यरात त्यसमाथी मुसलधारे पानीको कारण सजिलै एम्बुलेन्सको फोन उठ्ने कुरै भएन । कहिले तातो तेल तताएर टाउको र कम्मरमा लगाइदिने, कहिले तातोपानी तताएर खुवाउने अनि बाहिर भित्र हिँडाउने आदि आफुले जाने जति प्राथमिक उपचार गर्दै फोन लगाउँदै गरे ।
केही फोन उठेनन् भने केही एम्बुलेन्स बिरामी ओसार्नमै व्यस्त भएको जानकारी पाए । केही प्राइभेट गाडी भएको अभिभावकहरुलाई पनि सम्झे तर रातको समयमा दुःख दिन मनले मानेन । सेवा घरका ठुली छोरीहरु शिरु र सुस्म्मिताले सपनालाई सम्हाल्ने प्रयास गर्दै थिए मैले हतार हतार अस्पताल जाँदा लिएर जान केही कपडा तयार पारे ।
अनि मनमा आशा पलायो जब भक्तपुर अस्पतालको प्रमुख तथा मेशु डा. सुमित्रा गौतमज्युलाई सम्झे । एक घण्टीमै फोन रिसिभ भयो तत्काल एम्बुलेन्स आउदै गरेको कुरा जानकारी गराएएपछि बाल सेवा घर देखि रोडसम्म छाता ओडेर पुग्यौं ।

एम्बुलेन्समा चढ्ने बेलादेखी अस्पताल आइपुग्ने बेला सम्म हावाहुरीसङ्गै मुसल्धारे पानी पर्यो । उसको एउटा हात मेरो गर्दन र अर्को हातले मेरो अर्को हात जोडले समाएर चिच्याइरहेकी थिइन् । मेरो काखमा तेर्सो पर्दै उनले भनिन, दिदी मलाई गार्हो भयो ।
म आफ्नो पालामा आफ्नी आमाले साथ दिएको पल अनायासै सम्झिन पुगे, मेरो आमाले मलाई प्रेमपुर्ण तरिकाले सहजीकरण गरेकी थिइन । सायद सबैलाई यस्तो बेला आमाको आवश्यकता हुन्छ तर सपनाको ...।
थाहा दिएन मैले त्यो भुमिका निर्वाह गर्न सक्छु सक्दिँन । तर मेरि आमाको यादले मात्रै पनि ममा केही साहस बढेको अनुभूति भयो । टिल्पिल भरिएका आँखा बग्न थाले मैले आफुलाई रोक्ने प्रयास गर्दै सपनालाई सम्हाल्ने प्रयास गरे । यत्तिकैमा हामी अस्पताल पुग्यौं । पानी यत्ती दर्किरहेको थियो कि एम्बुलेन्सबाट ओर्लेर पुर्व प्रसुती वार्ड सम्म पुग्नै हम्मे हम्मे पर्यो ।
जब उसलाई अस्पतालको बेडमा सुताए, पीडा झन बढी भयो । दुई जना स्वास्थ्यकर्मी अर्को एक जना बिरामी हेर्दै हुनुहुन्थ्यो । पीडा तारान्तर बढ्यो मैले उहाँलाई सपनालाई हेर्नको लागि आग्रह गरे । अर्को एक स्वास्थ्यकर्मीले फाइल बोकेर मेरो छेउमा आउनु भयो र सोध्न थाल्नुभयो बिरामीको श्रीमान्को नाम, ठेगाना, बाबा, आमाको नाम ... तर अफसोच मसङ्ग कुनै प्रश्नको उत्तर थिएन ।
म निशब्द भएँ । उहाँ निरन्तर प्रश्न गर्दै हुनुहुन्थ्यो । मैले उहालाई केही बुझाउन सकिन यतमिात्र भने कि म सपनाको बारेमा एकछिन पछि भन्छु पहिले केही गरौँ । उहाँको आखा मेरो गलामा झुण्डिएको आइडी कार्डमा पर्यो अनि आफ्नो सेवामा लाग्नुभयो ।
सपनालाई धेरै गार्हो भैरहेको थियो । उसको पीडा देख्दा म पनि असिनपसिन भइसकेको थिएँ । उसको ढाडमा एउटा हात र पेटमा एउटा हात राखेर सान्त्वना दिँदै थिए । स्वास्थ्यकर्मी डेलिभरी गराउने तयारी गर्दै हुनुहुन्थ्यो । सपनालाई जाँच्दै भन्नू भयो, डेलिभरी रुममा लैजाऊ । तर सपना त्यहाँबाट चल्न सक्ने अवस्थामा थिइनन् ।
अचानक बिहान ठीक ३ः०० बजे त्यही बेडमै शिशुको जन्म भयो मेरो आँखा अगाडि नै ।स्वास्थ्यकर्मीले हत्तपत्त शिशुलाई सपनाको छातिमा राखिदिएर नाल काट्नुभयो र शिशुलाई भित्र लिएर जानुभयो । बाँकी उपचारको लागि सपनालाई पनि भित्रै लगियो ।
सपनाको अत्यास थोरै कम भएको थियो । तर मेरो मन अझै आत्तीदै थियो किनकी सपनाको कुरा अनुसार शिशु जन्मिने बेला भएकै थिएन । कोभिडको डरले गर्भवती अवस्थामा अस्पतालको सम्पुर्ण सुविधा लिन पनि सकिएको थिएन । म बाहिर र भित्र गर्न थाले ।
१ वर्ष अघि छोरी मानवीलाई उद्दार गर्दाको पल सम्झिएँ । कम समयमा जन्मेकोले मानवीलाई बचाउन हम्मे हम्मे परेका ती पलहरु मानसपटलमा सलबलाउन थाले । आफैँले आफैँलाई सम्हाल्दै थिए पुनः फर्म भर्नको लागि भित्र बोलाउनु भयो । मैले सपनाको बारेम वृतान्त उहाँलाई खुलाउदै भने सपनाको संरक्षक र अभिभावक जे भने पनि मानव कल्याण समाज नै हो । उहाँ दङ्ग पर्नुभयो धेरै जिज्ञासाहरु राख्नुभयो मैले जवाफ दिदै गए । उहाँले भन्नुभयो, हजुरले गर्नुभएको सेवामा आज हामिले पनि साथ दिन पाएउ खुशी लाग्यो ।
अब मलाई आफ्नो जिज्ञासा पोख्न र शिशुको बारेमा बुझ्न सजिलो भयो । मेरो जिज्ञासा मेटाउदै उहाँले शिशु स्वस्थ रहेको र आत्तिनु नपर्ने कुरा जानकारी गराउनुभए पछि बल्ल मैले लामो श्वास फेरेँ । आनन्दको अनुभूति गरेँ, शरिरका पसिना बल्ल ओबाउन थाले । ढोका बाहिर आएर बाहिरको हावा खाए । अब मलाई प्रतीक्षा थियो नवजात शिशु आफ्नो हातमा पर्ने समयको ।
सपनालाई ठीक छ भन्ने कुराको अनुभूति शिशु जन्मिना साथ गरिसकेकी थिए । शिशु पनि स्वस्थ छ भन्ने कुराले मन नै फुरुङ्ग भयो । मानव कल्याण समाज (सेवा घर) को सबैलाई म्यासेज मार्फत् जानकारी दिए र विशेष जानकारी दिए अस्पताल प्रमुख आदरणिय डा. सुमित्रा गौतमज्यलाई साथमा म्यासेज मार्फत नै हृदयदेखी धन्यवाद पनि व्यक्त गरे ।
करिब ३० मिनेटमा सपनालाई वार्डमा ल्याइयो एकैछिनमा नवजात शिशु पनि मेरो हातमा पर्यो । स्वास्थ्यकर्मीले भन्नूभयो, "छोरा जन्म्यो आमाको साहारा यही बन्छ अब ।" मैले सोचेँ, के छोरी चै आमाको साहारा बन्न सक्दिनन र ? सम्भवतः उहाँको भनाइको तात्पर्य यस्तो थिएन । तर खै मेरो मनले किन यस्तो सोच्यो थाहै भएन ।
म खुशी हुँदै बाबुलाई सपनाको छेउमा लिएर गए र सपनालाई बधाई दिए । सपनाको ओठमा आएको छोट्टो मुस्कानले खुशी सङ्गै पीडा व्यक्त गर्दै थियो । बाबुलाई बेडमा सुताएर एउटा हातले उसको हात समाए र अर्को हातले गाला सुम्सुम्याउँदै सान्त्वना दिएर भने, अब पनि मन दुखाउने हो ... ? उनले भनिन्, हजुर हुनुहुन्छ म ढुक्क छु ।
मेरो आँखा रसाए, शिर निहुर्याउदै बाबुलाई स्तनपान गराउन सघाएँ । दुध खाँदाखाँदै बाबू निदायो । सपना पनि निदाइन् । सपनाको निर्दोष अनुहारले धेरै कुरा व्यक्त गरिरहेको थियो । जसको महशस मैले गरिरहेकी थिए ।
एकछिनमै सुशिला (सेवा घर भक्तपुरको प्रमुख अभियन्ता) ले तातो सुप र न्यानो कपडा लिएर आइन, दुई जना भएर सपनालाई तेल लगाइदियौं र सुप खुवायौं । सुशीला पुनः सेवा घरको बिहानीको सेवाको लागि सेवा घर फर्किन ।
बाबुले यस धर्तिमा जन्म लिनुअघि आमाको गर्भमा नै एक अनौठो काहानी बोकेको छ जुन साधारण मानवको जीवनमा हुदैन । बाबु एक उदाहरणीय मान्छे बन्नेछ । मेरो मनले सोचिरहेको थियो ।
यत्तिकैमा मानव कल्याण समाजका सस्थापक सचिव हामी अभियन्ताहरुका उत्प्रेरक विजय कुमार पोखरेल सरआइपुग्नुभयो । बाबुलाई सुम्सुम्याउँदै आशीर्वाद दिनुभयो र परम्परा अनुसार मुख हेर्नुभयो अनि सपनाको शिरमा हात राखेर भन्नुभयो, बधाई छ तिमिलाई अनि हामी सबैलाई पनि । सबै कुरा राम्रो भयो अब कत्ती पनि पिर नमान हामी सधै तिम्रो साथमा रहनेछौ ।
सपनाको आँखा भरियो । सरले जिस्काउदै भन्नुभयोस, ल हेर अब त बाबुलाई फुल्याउने हो ।ू सपना मुसुक्क हाँसिन । उद्दारको समयदेखी नै विजय सरको काउन्सेलिङ्गले सपनामा धेरै परिवर्तन आएको थियो । सपना उहाँलाई अभिभावक मान्थिन । वार्डमा सारेदेखि नै, सर आउनुहुन्न ? भनेर सोधेकी थिइन् ।
सरले स्वास्थ्यकर्मीहरुसङ्ग बाबुको स्वास्थ्य र आमाको स्वास्थ्यको बारेमा सामान्य जानकारी लिनुभयो । दिउँसो डाक्टर आउनुभए पछि बाबुको शरीर अरु शिशुको जस्तो सामान्य नभएको जानकारी दिँदै रगत जाँच गराउनुभयो । रिपोर्ट सामान्य नै आयो । तर, स्किन सामान्य नदेखिएकोले २र३ दिनमा पुन जचाउनु पर्ने कुराको जानकारी दिनुभयो ।
हामिले स्वीकार गर्यौ्र र डिस्चार्जको तयारीमा सन्तोष भाइ र सुशीला बहिनी लाग्नुभयो । सपना र बाबुलाई सोही दिन साँझ अस्पतालबाट मानव कल्याण समाज (बाल सेवा घर) नलिन्चोक ल्यायौं । लकडाउनको समय अनि सेवा घरलाई सवारी साधनको अभाव यो विषम परिस्थितिमा सपना र बाबुलाई सेवा घर सम्म ल्याउन सहयोग पुर्याउनुहुने सेवा घरका अभिभावक आदरणीय नरेश रन्जित दाजु, उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, भक्तपुर अस्पताल र अस्पताल प्रमुख तथा मेशु डा. सुमित्रा गौतमज्युलाई हार्दिक साधुवाद अर्पण गर्दछु ।
सपना त एक प्रतिनिधि मात्र हुन्, यस्ता धेरै सपनाहरु हाम्रो समाज र परिवारबाट परित्यक्त छन ्। असल सस्कारको अभावमा बाटो बिराएर जीवनकै उजाड पाटोलाई अङ्गाल्न बाध्यभएका सपनाहरुलाई सही मार्ग देखाउने हाम्रो अभियान हो ।
हुन त सपना हाम्रो लागि पहिलो घटना होइन तर पनि हरेक घटनाले आजका युवाहरु र किशोरी आमाहरुको जीवनको काहालिलाग्दो पाटोलाई झक्झक्याएझै लाग्छ । सपना अनि बाबू हाल हामिसँग सुरक्षित हुनुहुन्छ ।
नेपालीमात्रको साथ सहयोग र सहभागितामा सञ्चालित मानव कल्याण समाज, परिवार र समाजबाट परित्यक्त अलपत्र बेवारिसे आमाबुवा र छोराछोरीहरुको साहारा बनिरहेको छ । दुवै आँखा नदेख्ने, दुवै गोडा नभएका, पक्षघातका बिरामी, बोल्न नसक्ने, सुस्तमनस्थिति, मानसिक रुपमा विक्षिप्त विभिन्न उमेर समुहका आमाबुवा दाजुदिदीहरु १५० जना र छोराछोरीहरु २२ जनाले हाम्रो ४ वटा शाखा मार्फत् सेवा पाइरहनुभएको छ ।
मानवताप्रेमी शुन्दर समाज निर्माण गर्ने यो अभियानमा आफ्नो बिशेष पलहरुमा सेवा घरलाई सम्झिएर देश तथा बिदेशदेखि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा साथ दिनुहुने सम्पुर्ण मानवताप्रेमी मनहरुलाई नमन अर्पण गर्दछौ ।


सुमित्रा चाैलागाइँ

