काठमाडौं । नेपाल धितोपत्र बोर्डले मंगलबार शेयर बजारमा लगानीका लागि जोखिमपूर्ण रहेको भनी ५१ वटा कम्पनीको सूची सार्वजनिक गर्यो । एकै वर्ष अत्यधिक मूल्य बढेका, मूल्य आम्दानी अनुपात १०० भन्दा बढी भएका, प्रतिशेयर आम्दानी ऋणात्मक भएका र प्रतिशेयर नेटवर्थ अंकित मूल्यभन्दा कम भएका आधारमा ती कम्पनीलाई सो सूचीमा राखेको थियो ।
हिजो सो सूची सार्वजनिक भएपछि आज बजारमा नकारात्मक असर पर्ने आकलन सबैले गरेका थिए । सोही अनुसार आज बजार ५१ अंकले घटेको छ । तर, बजारका दुई कम्पनीले भने बजारको प्रवाह नगरी आफ्नो वृद्धिलाई निरन्तरता दिएका छन् ।
५१ कम्पनीमध्ये आज बजारमा ५० कम्पनीको कारोबार भएको थियो । सोमध्ये ४८ कम्पनीको मूल्य बढेको छ । यसरी मूल्य बढ्ने कम्पनीमा युनियन हाइड्रोपावर र महिला लघुवित्त वित्तीय संस्था रहेका छन् ।
युनियनको मूल्य आज २६ रुपैयाँ अर्थात् ७.६७ प्रतिशत बढेको छ भने महिला लघुवित्तको ५ रुपैयाँ अर्थात् ०.१० प्रतिशत मूल्य बढेको छ ।



