काठमाडौं । युरोकप २०२० अन्तर्गत आज राति इटली र स्विट्जरल्यान्ड भिड्दै छन् ।
खेल नेपाली समयअनुसार मध्यराति १२ः ४५ बजे सुरु हुनेछ ।
पूर्व विजेता इटलीले टर्कीलाई ३–० ले हराउँदै आफुलाई यस प्रतियोगिताको दाबेदारका रुपमा उभ्याएको छ । इटलीले पछिल्ला ९ खेलमा लगातार जित हासिल गरेको छ, यसक्रममा उसले २८ गोल गरेको छ भने कुनै पनि गोल खाएको छैन ।
अर्कोतर्फ, पहिलो खेलमा वेल्ससँग १–१ गोलको बराबरी खेलेको स्वीट्जरल्यान्डलाई पनि प्रतियोगिताको अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाउन यो खेल जित्नुपर्ने आवश्यकता छ ।
स्विट्जरल्यान्डले पनि प्रतियोगिताको छनोटमा निकै उत्कृष्ट खेलेको थियो । उसले खेलेका पछिल्ला ६ खेलमध्ये ५ खेल जितेको छ भने एक खेल बराबरीमा टुंगिएको छ ।
स्विट्जरल्यान्डको मिडफिल्डमा ग्रानिट जाका र रेमा फ्रिउलेरजस्ता उत्कृष्ट खेलाडी छन् । तर, रोममा हुने खेलमा घरेलु टोलीविरुद्ध आश्चर्यजनक नतिजा निकाल्नका लागि अग्रपंक्तिमा जर्दन साकिरी र ब्रिइम्बोलो चल्न जरुरी छ ।
इटलीका सेन्ट्रल मिडफिल्डर मार्को भेराट्टी र फुल ब्याक अलेस्यान्द्रो फ्लोरेन्टी पूर्ण फिट हुन बाँकी रहेकाले आजको खेलमा उपस्थित हुने छैनन् ।
यस्तोमा म्यान्सिनीले केही खेलाडीको पोजिसन हेरफेर गर्न सक्छन् । फ्रान्सिस्को एरेबी र फेडरिको चेइसा यसका लागि तयार छन् । अग्रपंक्तिमा गोलको खाता खोल्दै सिरो इम्मोबाइल र सिरो इन्जाघीले उत्कृष्ट सुरुवात गरेका छन् ।



