काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयलले विकास तथा पूर्वाधार निर्माणलाई अलपत्र पार्ने र समयमा निर्धारित काम सम्पन्न नगर्ने ८ कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गर्दै ती कम्पनीहरुलाई निश्चित समयका लागि सार्वजनिक निकायको खरिदमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध समेत लगाएको हाे ।
ती कम्पनीहरुलाई ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्राचार गर्दा पनि बेवास्ता गरेपछि कार्यालयले सात दिने सूचना जारी गर्दै पुनः स्पष्टीकरण माग गरेको छ ।
कार्यालयका अनुसार स्पष्टीकरण मागिएकाहरुमा हेटौंडा–११, मकवानपुरको गुण निर्माण सेवाका गुणराज पाठक, सिरुवा/कविर/सुनकोशी जेभी काठमाडौंका नारायण प्रसाद पराजुली, जानकी टोल पर्साको मुस्कान सप्लायर्सका समसुल हक मियाँ धुनिया र हेटौंडा–६ मकवानपुरको मुक्तिनाथ रुपेश कन्स्ट्रक्सन एण्ड सप्लायर्सका रुपेश घिमिरे छन् ।
यसैगरी बानेश्वर–१० काठमाडौंको अनुष्ठान कन्स्ट्रक्सनका रोशन खड्का र रविन्द्र कुमार गौतम, सिरुवा कन्स्ट्रक्सन कम्पनी तिनकुने काठमाडौंका दिनेश पौडेल, दिल्ली ट्रेडिङ वीरगञ्ज पर्साकी रानी कुमारी रौनियार र जय गढीमाई निर्माण कन्स्ट्रक्सन हर्दी चितवनका सिताराम चौधरीसँग पनि लिखित स्पष्टीकरण माग गरिएको छ ।
कालोसूचीमा राखिएको अवधिभर यी कम्पनीले सार्वजनिक निकायको खरिद कार्यमा सहभागी हुन पाउनेछैनन् ।




