images
images

टोखामा किसानलाई २२ थान हाते ट्र्याक्टर वितरण


  • 909
    SHARES
  • २०७८ आषाढ २ गते बुधबार

    टोखामा किसानलाई २२ थान हाते ट्र्याक्टर वितरण

    काठमाडौं । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले नगरपालिकाभित्र कृषि क्षेत्रको विकास र विस्तारका लागि किसानलाई इन्धनबाट सञ्चालन हुने २२ थान हाते ट्र्याक्टरवितरण गरेको छ । 

    नगरपालिका कृषि शाखा प्रमुख सुमित्रा पाठकले किसानको सहजताका लागि ५० प्रतिशत अनुदानमा नगरपालिकाले हाते ट्र्याक्टर सहयोग गरेको जानकारी दिए । 

    टोखाले बुधबार ११ थान र त्यसभन्दा पहिले ११ थान ट्र्याक्टरवितरण गरेको छ । वितरण गरिएका ट्र्याक्टरमध्ये वडा नं १ मा पाँच थान, वडा नं २ मा पाँच थान र वडा नं ३ मा एक थान रहेको छ । एउटा ट्र्याक्टरको मूल्य रु ४० हजार पर्ने नगरपालिकाले जनाएको छ ।
     
    यस्तै टोखाले किसानका लागि ५० प्रतिशत अनुदानमा धान तथा गहुँको बीउ, टनेल प्लाष्टिक, नमूना प्लाष्टिक घर, विषादीलगायतका कृषि सामग्री वितरण गरेको छ । 

    नगरपालिकाभित्रका व्यावसायिक किसानलाई भने निःशुल्क तरकारी तथा फलफूलका बीउबिजन वितरण गरिएको कृषि शाखा प्रमुख पाठकले बताए । टोखाले २५० कृषकका लागि कौसीखेती तालिमसमेत प्रदान गरेको छ । कौसीखेती तालिम प्राप्त गर्ने किसानलाई गमला, मल र बीउबिजन निःशुल्क वितरण गरेको छ । 

    नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले टोखाले कृषि क्षेत्रको विकास र विस्तारका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत समेत काम गरिरहेको बताए । परियोजनाअन्तर्गत टोखाले तरकारी एवं च्याउखेती पकेटको कामलाई अगाडि बढाएको छ । 

    उक्त परियोजना रु २४ लाखको रहेको छ । नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि आर्थिक वर्ष २०७७÷०७८ मा नगरस्तरीय बजेटबाट रु ५२ लाखभन्दा बढी रकम विनियोजन गरेको थियो । 


    images
    images

    Logo