images
images

बाढी नियन्त्रणका लागि २० लाख बजेट बिनियोजन


  • 317
    SHARES
  • २०७९ मंसिर २० गते मंगलबार

    बाढी नियन्त्रणका लागि २० लाख बजेट बिनियोजन

    काठमाडौं । शुक्लाफाँटा नगरपालिकाले बाढी नियन्त्रणका लागि २० लाख बजेट बिनियोजन गरेको छ । नगरपालिका अन्तर्गतका अधिकांश क्षेत्र प्रत्येक वर्ष बाढीका कारण डुवानमा परेपछि बाढीको पानी सुरक्षित व्यवस्थापनको काम अगाडि बढाइएको हो । 

    चुरे क्षेत्र भएर बग्ने सनवोरा, स्याली, वनहरा, दोदा लगायतका ठूला नदी र स–साना खहरे खोलाले प्रत्येक वर्ष विपद् निम्त्याउन थालेपछि नगरपालिका डुवान क्षेत्रको पहिचान गरी परियोजना निर्माण अघि बढाएको हो । 

    परियोजना अन्तर्गत डुवान हुने र नहुने जग्गा पहिचानका लागि सर्वे गरिने नगरपालिकाका प्राविधिक शाखाका प्रमुख दीपक धामीले बताए। “जिल्लामा पहिलो डुवान क्षेत्र पहिचान गरी निकासको व्यवस्थापनको काम सुरु भइसकेको छ”, उनले भने, “डुवानको समस्याको दीर्घकालीन समाधान गर्ने गरी काम भइरहेको छ ।”

    विपद् व्यवस्थापनको क्षेत्रमा क्रियाशील विज्ञको सल्लाह सुझावका आधारमा परियोजना तयार गरिने उनको भनाइ छ । “डुवानको उच्च जोखिम र न्यून जोखिमका क्षेत्र पहिचानको कार्य गरी सोही अनुसार योजना निर्माण गरिन्छ”, उनले भने, “नगरपालिकाबाट सक्ने काम नगरपालिकाले र नसक्ने काम प्रदेश र सङ्घले गर्नेछ ।”
     
    परियोजना अन्तर्गत डुवान क्षेत्रको पहिचानसँगै पानी निकासका लागि ढल निर्माण गर भू(क्षय हुने क्षेत्रमा भरपर्दो दिगो रुपमा टिक्ने तटबन्ध निर्माणलाई प्राथमिकतामा राखिने प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टको भनाइ छ । 

    गत असोज पहिलो साता आएको बाढीले नगरपालिका–११ को वनहरा शिविर, वडा नं १२ को तिलकी, दुवाहा, एकान्तकुना बस्ती डुवानमा परेका थिए । साथै मनहरा नदीमाथिको झोलङ्गेपुल भत्काउँदा ठूलो नोक्सानी भएको थियो । बाढीको पानी खेतबारीमा पस्दा धान, सखरखण्ड, उखुलगायत बाली किसानले भित्र्याउन  पाएका थिएनन् ।


    images
    images

    Logo