images
images

संसदीय दलमा देउवालाई समर्थन गर्ने दुर्लभ थापाको घोषणा


  • 540
    SHARES
  • २०७९ मंसिर २० गते मंगलबार

    संसदीय दलमा देउवालाई समर्थन गर्ने दुर्लभ थापाको घोषणा

    भक्तपुर । भक्तपुर–२ मा काँग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले संसदीय दलको निर्वाचनमा आफ्नो समर्थन पार्टी सभापति शेरबहादुर देउवालाई रहने प्रष्ट पारेका छन् । दुई दल मात्रै मिलेर पनि बहुमत पुग्न नसक्ने वर्तमान अवस्थामा धेरै दलहरुलाई मिलाएर सरकार गठन गर्न र संसदलाई समेत गतिशील बनाउन सक्ने व्यक्ति देउवा नै भएको भन्दै उनले आफूले देउवालाई नै संसदीय दलमा समर्थन गर्न लागेको उनको भनाइ छ । 

    ‘अहिलेको संसदीय अंकगणितलाई हेर्दा काँग्रेस र एमाले मिले मात्रै बहुमत पुग्छ । तर, यी दुई पार्टी एक आपसमा प्रतिस्पर्धी भएकोले मिलेर अघि बढ्ने सम्भावना छैन,’ थापा भन्छन्, ‘यस्तो अवस्थामा धेरैवटा दललाई समेटेर सरकार बनाउनुपर्ने अवस्था छ । यसरी सबैलाई मिलाएर लैजानसक्ने क्षमता सभापतिज्यूसँग मात्रै छ, यो इतिहासले नै पुष्टि गरेको विषय हो ।’ 

    ‘अहिलेको अवस्थामा सत्ता गठबन्धनलाई टिकाएर अन्य पार्टीलाई समेत गठबन्धनमा आवद्ध नगराए बहुमत पुग्ने अवस्था छैन । यस्तो अवस्थामा काँग्रेसले समन्वयकारी भूमिका खेल्न नसक्ने संसदको भविष्य नै अन्यौलमा पर्ने र देश मध्यावधि निर्वाचनमा धकेलिने खतरालाई समेत दृष्टिगत गर्दै काँग्रेसले योग्य व्यक्तिलाई संसदीय दलको नेता छान्नुपर्छ,’ थापा भन्छन्, ‘अहिलेको अवस्थामा यसका लागि उपयुक्त पात्र शेरबहादुर देउवा नै हो ।’

    अघिल्लो संसद विघटनविरुद्ध देउवा नेतृत्वमा भएको गठबन्धन, एमसीसी लगायतका मुद्दामा जुटेको सहमति नै प्रधानमन्त्री देउवाको सक्षमताको प्रमाण भएको उनको भनाइ छ । यो सरकार संविधानको रक्षा, कोभिड खोपको सुनिश्चितता र निष्पक्ष रुपमा तीनवटै तहको निर्वाचन गराउन आएको भन्दै सरकार सञ्चालनमा प्रधानमन्त्री देउवा पूर्ण रुपमा सफल भएको समेत उनको भनाइ छ । २०७४ सालमा २३ सिटमा खुम्चिएको अवस्थाबाट अहिले प्रत्यक्षमा ५७ सिटसहित देशको सबैभन्दा ठूलो पार्टी बनाउन सफल हुनुकाे मुख्य श्रेय नेतृत्वलाई नै जाने थापा बताउँछन् । 

    यद्यपि पार्टीभित्र पलाएको युवा नेतृत्वको जोश सकारात्मक भएको भन्दै अबको नेतृत्वले यस्तो जोश र भिजनलाई समेत समेटेर अघि बढ्नुपर्नेमा थापाको जोड छ । यसका लागि नेतृत्वले युवा सहभागिता र उनीहरुका कार्यक्रम लागु गर्ने विषयमा ध्यान दिनुपर्ने उनी बताउँछन् । 

    ‘काँग्रेसमा प्रधानमन्त्रीका लागि धेरै जना आकांक्षी हुनुहुन्छ, कोही अनुभवी हुनुहुन्छ, कसैसँग राम्रो भिजन छ, कसैसँग युवा जोश र इच्छाशक्ति छ । तर, कसैसँग राम्रो भिजन छ भनेर मात्रै हुँदैन, त्यसलाई लागु गर्न नेतृत्व पनि चाहिन्छ,’ उनी भन्छन् । 

    विपक्षमा रहेको दलकै समर्थनमा एमसीसी पास भएको भन्दै उनी यो देउवाको नेतृत्वले मात्रै सम्भव भएको बताउँछन् । ‘तात्कालिन अवस्थामा माओवादी एमसीसी पास गर्नैहुन्न भन्ने पक्षमा थियो । एमसीसी पास गरेमा गठबन्धन भत्काउने समेत भनेको थियो । तर, पछि माओवादीकै समर्थनमा यो पास भयो’ उनी भन्छन्, ‘बाहिर एमसीसीबारे विभिन्न अफवाह समेत फैलिए । तर, देशको हितका लागि अफवाहबीच नेतृत्वले एमसीसी पास गर्यो । आगामी दिनमा यस्तो दृढता र समन्वयको आवश्यकता अझै बढी छ, सभापतिज्यूबिना यो अभाव तत्काल कसैले पूरा गर्न सक्दैन ।’


    images
    images

    Logo