काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
कतारको अहमद विन अली रङ्गशालामा भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
अर्जेन्टिनाको जीतमा कप्तान लियोनल मेस्सीले खेलको ३५औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने ५७औं मिनेटमा जुलियान अल्भारेजको गोलपछि अग्रता दोब्बर भयो । खेलको ७७औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अष्ट्रेलियालाई खेलमा फर्काउने प्रयास गरे पनि पर्याप्त हुन सकेन ।
प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने अर्जेन्टिना दोस्रो टोली बनेको छ । यसअघि आजै भएको अन्तिम १६ को पहिलो खेलमा नेदरल्याण्ड्सले अमेरिकालाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ ।
अन्तिम १६ अन्तर्गत आज राति ८ः४५ बजे जापान र क्रोएसिया र आज राति १२ः४५ बजे ब्राजिल र दक्षिण कोरियाले प्रतिस्पर्धा गर्नेछन् ।
नेदरल्यान्ड्स क्वाटरफाइनलमा
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत शुरु भएको अन्तिम १६ को खेलमा नेदरल्यान्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
कतारको खालिफा अन्तर्राष्ट्रिय रङ्शालामा आज भएको नकआउट चरणको पहिलो खेलमा अमेरिकालाई ३(१ गोलअन्तरले पराजित गर्दै नेदरल्यान्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपे, डेली ब्लाइन्ड र डेन्जेल डुमफ्रिएसले समान एकरएक गोल गरे । अमेरिकाका लागि हाजी राइटले एक गोल फर्काए ।
खेलको १०औँ मिनेटमा नेदरल्यान्डसका लागि डेन्जेल डम्फ्रिजको पासमा मेम्फिस डिपेले गोल गरे र खेलमा अग्रता दिलाए । पहिलो हाफको अत्तिरिक्त समयमा नेदरल्यान्ड्सका डम्फ्रिजको पासमा डेली ब्लाइन्डले गोल गरेपछि नेदरल्याण्ड्सले खेलमा २(० को अग्रता लियो ।
खेलको ७६औं मिनेटमा अमेरिकाका लागि हाजी राइट्सले गोल गर्दै खेलमा फर्कने प्रयास गरे पनि खेलको ८१औं मिनेटमा डेन्जेलले गोल गर्दै नेदरल्याण्ड्सको जीत सुनिश्चित गरे ।
जीतसँगै नेदरल्यान्ड्स कतार विश्वकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । नेदरल्यान्ड्सले क्वाटरफाइनलमा अर्जेन्टिना र अष्ट्रेलियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम १६ अन्तर्गत अर्जेन्टिना र अस्ट्रेलियाबीचको खेल आज राति १२ः४५ बजे हुनेछ ।



