काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको संयोजक र सदस्य पदका लागि १० जनाको नाम सर्टलिस्टमा राखेको छ । बैंकले शुक्रवार सूचना जारी गर्दै सर्टलिस्टमा परेका १० जनाको नाम सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकले गत भदौ २० गते समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्सको व्यवस्थापनका लागि संयोजन र सदस्य पदका लागि कर्मचारी माग गरेको थियो । सो सूचनाका आधारमा पेस हुन आएका अवेदनहरुमध्ये राष्ट्र बैंकले संयोजक पदका लागि ५ जना र सदस्य पदका लागि ५ जनाको सर्टलिस्ट सार्वजनिक गरेको छ । सर्टलिस्टमा परेका ५र५ जनामध्ये दुबै पदका लागि १र१ जना मात्रै छनोट हुने राष्ट्र बैंकले जनाएको छ ।
बैंकले संयोजक पदका लागि प्रकास कुमार श्रेष्ठ, विनय रिजाल, विष्णुमणि गौतम, शिवभक्त पोखरेल र सागुर कुमार घिमिरेको नाम सर्टलिस्टमा राखेको छ ।
त्यस्तै, सदस्य पदका लागि ईश्वर कुमार कार्की, काजीराम कार्की, गोविन्द प्रसाद शर्मा, तारानाथ पाण्डे र श्रीराम सिटौलाको नाम सर्टलिस्टमा परेको छ ।
कार्यपत्र प्रस्तुतीका लागि २८ देखि पुष ३ गतेसम्म कार्यपत्र प्रस्तुत गर्न बैंकले अनुरोध गरेको छ । तोकिएको मिति र समयमा उपस्थित नहुने उम्मेदवारको लागि पछि कुनै व्यवस्था नहुने समेत बैंकले जनाएको छ ।



