images
images

यी हुन् निकटतम प्रतिस्पर्धी भई पराजित भएका महिला उम्मेदवार, कुन प्रदेशबाट को को भए ?


  • 257
    SHARES
  • २०७९ मंसिर १४ गते बुधबार

    यी हुन् निकटतम प्रतिस्पर्धी भई पराजित भएका महिला उम्मेदवार, कुन प्रदेशबाट को को भए ?

    काठमाडौं । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका एक सय ६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

    ती मध्ये नौ महिला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा (एमाले) बाट बारा–३ बाट ज्वालाकुमारी साह, धनुषा–३ बाट जुलीकुमारी महतो, सुनसरी–३ बाट भगवती चौधरी र कास्की–२ बाट विद्या भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । 

    यसैगरी तेह्रथुम–१ बाट नेपाली कांग्रेसकी सीता गुरुङ, दाङ–२ बाट नेकपा (माओवादी केन्द्र)की रेखा शर्मा, कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ, ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की र सोही पार्टीकी सोबिता गौतम काठमाडौँ–२ बाट निर्वाचित भएका छन्
     
    प्रतिनिधिसभा सदस्यतर्फको निर्वाचनमा निकटतम प्रतिस्पर्धीका रूपमा पराजित हुनेमा १५ महिला उम्मेदवार रहेका छन् । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा एक, कर्णाली प्रदेशमा एक, लुम्बिनी प्रदेशमा पाँच, गण्डकीमा एक, बागमती प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा तीन निकटतम प्रतिस्पर्धी महिला उम्मेदवार बनेका छन् । पराजित हुने अधिकांश पूर्वसासंद छन् । 

    प्रदेश १

    मोरङ निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसकी सुजाता कोइराला एमालेका ऋषिकेश पोखरेलसँग एक हजार दुई सय आठ मतले पराजित भईन् । उनले ३१ हजार नौ सय ४० मत प्राप्त गरिन् । 

    सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ जनता समाजवादी पार्टीका अशोक राईको निकटतम प्रतिस्पर्धी बनिन् । मतगणनाका क्रममा केही समय अग्रता लिएकी तामाङ अन्तिम मतपरिणाममा भने चार सय ५३ मतान्तरले राईसँग पराजित भइन् । उनले १६ हजार छ सय छ मत ल्याएकी हुन् । 

    एमालेकी मञ्जुकुमारी चौधरी उदयपुर–१ मा कांग्रेसका डा नारायण खड्कासँग पराजित भएकाी छिन् । डा खड्कासँग दुई हजार तीन सय ७९ मतान्तरले चौधरी पराजित भएकी थिइन् । 

    मधेश प्रदेश 

    सिरहा–२ मा जनता समाजवादी पार्टी (जसपा) का राजकिशोर यादवसँग कांग्रेसकी चित्रलेखा यादव एक हजार एक सय ५० मतान्तरले पराजित भइन् । चित्रलेखाले २३ हजार २८ मत प्राप्त गरिन् । 

    कर्णाली प्रदेश 

    जुम्ला–१ मा माओवादी केन्द्रकी गोमा गौतम (कुँवर) राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीको निकटतम प्रतिस्पर्धी बनिन् । उनले ११ हजार नौ सय ५९ मत प्राप्त गरेमी थिइन् भने शाहीले २२ हजार आठसय १९ मत प्राप्त गरेका थिए । 

    लुम्बिनी प्रदेश 

    दाङ–१ मा एमालेकी शान्ता चौधरी नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरीको निकटतम प्रतिस्पर्धी बनिन्े । शान्ता मेटमणिसँग पाँच हजार ८३ मतान्तरले पराजित भइन् । शान्ताले २१ हजार चार सय ९३ मत प्राप्त गरेमी थिइन् ।  

    दाङ–३ मा एमालेकी कोमल वली कांग्रेसका दीपक गिरीको निकटतम प्रतिस्पर्धी बनिन् । गिरी ३६ हजार नौ सय ११ मतसहित निर्वाचित भए । गिरीसँग सात हजार आठ सय १९ मतले वली पराजित भइन् । 

    प्यूठान–१ मा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल एमालेका सूर्यबहादुर थापा क्षेत्रीसँग पराजित भइन् । थापा ४१ हजार एक सय १८ मत ल्याई निर्वाचित हुँदा पाँच हजार तीन सय चार मतान्तरले पौडेल पराजित भइन्। पौडेलले ३५ हजार आठ सय १४ मत प्राप्त गरेकी थिइन् । 

    अर्घाखाची–१ मा कांग्रेसकी पुष्पा भुसाल (गौतम) एक हजार सात सय ३० मतले एमालेका टोपबहादुर रायमाझीसँग पराजित भइन् । भुसालले ४० हजार नौ सय ४५ मत प्राप्त गरेकी थिइन्

    गुल्मी–२ मा नेकपा (एकीकृत समाजवादी) की रामकुमारी झाँक्री एमालेका गोकर्णराज विष्टसँग दुई हजार ३५ मतान्तरले पराजित भइन् । झाँक्रीले २६ हजार चार सय ४१ मत प्राप्त गरिन् ।  

    गण्डकी प्रदेश 

    बागलुङ–२ मा एमालेकी मञ्जु शर्मा चार हजार छ सय एक मतान्तरले माओवादी केन्द्रका देवेन्द्र पौडेलसँग पराजित भइन् । शर्मा २० हजार एक सय ९३ मत प्राप्त गरी पौडेलको निकटतम प्रतिस्पर्धी बनिन् ।
     
    बागमती प्रदेश 

    मकवानपुर–१ मा राप्रपाका दीपकबहादुर सिंह निर्वाचित भए । उनको निकटतम प्रतिस्पर्धी कांग्रेसकी महालक्ष्मी उपाध्याय (डीना) दुई हजार तीन सय ८६ मतान्तरले राप्रपाका सिंहसँग पराजित भइन् । 

    सुदूरपश्चिम प्रदेश 

    कञ्चनपुर–१ मा एमालेका तारा लामा तामाङ निर्वाचित भइन् । उनको निकटम प्रतिस्पर्धी माओवादी केन्द्रकी बीना मगर थिइन्  । पाँच हजार पाँच सय ४३ मतान्तरले पराजित भएकी मगरले १९ हजार चार सय मत प्राप्त गरिन् । 

    कन्चनपुर–३ मा कांग्रेसका रमेश लेखकसँग एमालेकी निरुदेवी पाल १२ हजार ९० मतान्तरले पराजित भइन् । डोटी–१ मा एमालेकी गौरीकुमारी ओली, एकीकृत समाजवादीका प्रेमबहादुर आलेसँग चार हजार दुई सय छ मतान्तरले पराजित भइन् । 


    images
    images

    Logo