काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल १ करोड १२ हजार ४७ मत गणना गरिएको छ ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ । निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार पहिलो स्थानमा रहेको नेकपा (एमाले)ले २६ लाख ९७ हजार ६ सय ६४ मत प्राप्त गरेको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ५५ हजार १ सय ५९, तेस्रोस्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले ११ लाख ४१ हजार २ सय ७३, र चौंथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९७ हजार ७ सय ८९ मत प्राप्त गरेको छ ।
त्यसैगरि, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार ३ सय ४, जनता समाजवादी पार्टीले ३ लाख ९३ हजार ५ सय ९९ मत प्राप्त गरी थ्रेस होल्ड कटाइसकेका छन् ।
आयोगको विवरणअनुसार जनमत पार्टीले ३ लाख ५४ हजार ३ सय ८५ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादीले २ लाख ८२ हजार १ सय ८९ मत प्राप्त गरेको छ ।
आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टीले २ लाख ४४ हजार ३ सय ४३, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ४७ हजार ५ सय ५, नेपाल मजदूर किसान पार्टीले ७३ हजार ६ सय २९ , हाम्रो नेपाली पार्टीले ५३ हजार ९ सय १० मत, मंगोल नेशनल अर्गनाइजेशनले ४७ हजार ९ सय ५, राष्ट्रिय जनमोर्चाले ४७ हजार ७ सय ३, नेपाल सङ्घीय समाजवादी पार्टीले ३९ हजार ७ सय ३७ मत प्राप्त गरेका छन् ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कूल ४७ दलले निर्वाचन प्रक्रियामा भाग लिएका थिए । प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्छ । कुल खसेको सदर मतको तीन प्रतिशत थ्रेस होल्ड कटाएपछि राष्ट्रिय दलको मान्यता तथा सेवा सुविधा प्राप्त हुन्छ ।



