काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ३७ हजार बढी मत बदर भएको छ ।
जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका निर्वाचन अधिकृत राजीव पन्थीका अनुसार प्रत्यक्ष तथा समानुपातिक गरी ३७ हजार ७ सय ३६ मत बदर भएको हो ।
प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १३ हजार ४ सय ५६ मत बदर भएको छ भने प्रदेशसभामा ११ हजार १ सय ४३ मत बदर भएको पन्थीले जानकारी दिए । ३ प्रतिनिधिसभा र ६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा सबैभन्दा बढी मत क्षेत्र नं ३ मा बदर भएको छ ।
क्षेत्र नं ३ मा प्रत्यक्षतर्फको प्रतिनिधिसभामा ५ दशमलव ३१ प्रतिशत मत बदर भएको छ भने दुवै प्रदेशसभा १ मा ४ दशमलव ३२ प्रतिशत र प्रदेशसभा २ मा पाँच दशमलव ८१ प्रतिशत मत बदर भएको छ ।
जिल्लामा सबैभन्दा कम मत क्षेत्र नं २ मा बदर भएको छ । प्रतिनिधिसभातर्फ तीन दशमलव ८१ प्रतिशत मत बदर हुँदा प्रदेशसभा १ मा २ दशमलव ६० प्रतिशत र प्रदेशसभा २ मा चार दशमलव ६५ प्रतिशत मत बदर छ ।
क्षेत्र नं १ मा ५.८७ प्रतिशत मत बदर भएको छ । प्रदेशसभा १ मा ३ दशमलव ८१ प्रतिशत र प्रदेशसभा २ मा पाँच दशमलव ६४ प्रतिशत मत बदर छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा समानुपातिकतर्फ क्षेत्र नं १ मा ५.३३ प्रतिशत, क्षेत्र नं २ मा ४.१८ प्रतिशत र क्षेत्र नं ३ मा पाँच दशमलव ९९ प्रतिशत मत बदर भएको छ ।
जिल्लामा मतदाता शिक्षा प्रभावकारी नभएको कारण मत बदर भएको कपिलवस्तु नागरिक समाजका अध्यक्ष डोलकबहादुर पछाईँको भनाइ छ । “हरेक निर्वाचनमा मत बदर हुने गरे पनि त्यसलाई कम गर्ने कुनै योजना बनेको देखिँदैन”, उनले भने ।
जिल्लामा कुल मतदाता ३ लाख ६८ हजार ३२ रहेकामा दुई लाख ५३ हजार ५ सय ९ मत खसेको थियो । जिल्लामा ६७.२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका सूचना अधिकारी अनिता क्षेत्रीले बताए ।
समानुपातिकमा एमाले पहिलो
कपिलवस्तुमा समानुपातिकतर्फ नेकपा (एमाले) पहिलो दल बनेको छ । कपिलवस्तुका तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । योसँगै समानुपातिकतर्फ एमाले पहिलो पार्टी भएको हो ।
प्रतिनिधिसभातर्फ एमालेले ७२ हजार ८ सय १६ मत पाएको छ भने नेपाली कांग्रेसले ६१ हजार २ सय १६ मत पाएर दोस्रो हुँदा १६ हजार २ सय ५९ मत पाएर राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो भएको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी जिल्लामा १५ हजार ४ सय १८ मत पाएर चौथो स्थानमा छ । जनमत पार्टीले १५ हजार २ सय ५, नागरिक उन्मुक्ति पार्टीले ९ हजार ३ सय ५, जनता प्रगतिशील पार्टी नेपालले ८ हजार ८ सय ६२ मत पाएको छ ।
जनता समाजवादी पार्टी नेपालले ८ हजार ८ सय ४१ मत पाएको छ । नेकपा (माओवादी केन्द्र)ले ८ हजार ६ सय ७४ मत पाएको छ । नेकपा (एकीकृत समाजवादी)ले ८ हजार ४ सय ४७ मत पाएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टीले ६ हजार ४ सय ४७ मत पाएको छ । बहुजन शक्ति पार्टीले २ हजार ७ सय ४१, राष्ट्रिय जनमोर्चाले १ हजार ३ सय १८, हाम्रो नेपाली पार्टीले १ हजार १ सय १४ मत पाएको छ । अरु साना दलहरूले पाएको मत १ हजारभन्दा कम छ ।
२०७४ साल यता जन्मिएका जनमत, नागरिक उन्मुक्ति, जप्रपा, एकीकृत समाजवादीले जिल्लामा राम्रो मत पाएका छन् भने राप्रपाले पनि आफ्नो दबदबा बढाएको छ ।
जिल्लाका ६ प्रदेशसभातर्फ पनि एमाले अग्रस्थानमा रहेको छ । एमालेले ७५ हजार २ सय ५२, कांग्रेसले ५८ हजार ७ सय ३८, जनमत पार्टीले १७ हजार २ सय १६, राप्रपाले १६ हजार १ सय ९८, माओवादीले १० हजार ९ सय ३८, नागरिक उन्मुक्ति पार्टीले १० हजार ६ सय ६५, जसपाले १० हजार तीन सय २४, एकीकृत समाजवादीले ९ हजार १ सय ३६ मत पाएको छ ।
जनता प्रगतिशील पार्टीले ८ हजार ५ सय ६७, लोसपाले ५ हजार ३ सय ६८, बहुजन शक्ति पार्टीले ३ हजार १ सय ५०, हाम्रो नेपाली पार्टीले २ हजार ७ सय ६४, राष्ट्रिय जनमोर्चाले २ हजार २ सय ८८ मत पाएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ ।



